योग मानव जीवनको महाविद्या हो : योगाचार्य शर्मा

Headlines विज्ञान तथा सूचना प्रविधि

काठमाडौं । विश्वभर हरेक वर्ष जुन २१ तारिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । योगको महत्वलाई विश्व समुदायसमक्ष पु¥याउने उद्देश्यले संयुक्त राष्ट्रसंघले यस दिवसलाई आधिकारिक रूपमा मान्यता दिएको हो ।

सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय योग दिवस सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको थियो । उक्त प्रस्तावलाई सदस्य राष्ट्रहरूले सर्वसम्मत रूपमा समर्थन गरेपछि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा घोषणा गरिएको थियो ।

त्यसपछि सन् २०१५ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । प्रत्येक वर्ष यस अवसरमा योग अभ्यास, जनचेतनामूलक कार्यक्रम, प्रशिक्षण तथा विशेष समारोहहरू आयोजना गरिन्छन् ।

यसै सन्दर्भमा नेपाल न्यूज बैंकले योगाचार्य राजन शर्मासँग गरेको संवादमा योग कुनै सामान्य शारीरिक व्यायाम मात्र नभई मानव जीवनलाई दुःख, चिन्ता, भय, तनाव र मानसिक अशान्तिबाट मुक्त गराउने दिव्य ज्ञान भएको बताएका छन् ।

उनका अनुसार सृष्टिको प्रारम्भदेखि नै ऋषिमुनि तथा भगवान शिवको करुणाबाट मानव समाजलाई सही मार्गदर्शन प्रदान गर्ने उद्देश्यले योगको विकास भएको हो ।

उनले भने, ‘योगको सुरुवात ऋषिहरु साथै शिवजीको करुणाबाट संसारका मानिसलाई मुक्त र दुःखबाट पार लगाउनका लागि एउटा साधना पद्धतिका रुपमा विकास भयो । सृष्टिको प्रारम्भदेखि नै र प्रारम्भ बिन्दुबाट आएको एउटा मौलिक ज्ञान योग हो । जसले हामी मानवलाई दुःख, चिन्ता, भय र त्रासबाट अर्थात यी सबै बन्धनहरुबाट मुक्त दिलाउने माध्यम हुन् । खुशी र आनन्द हुन नदिने, मूल स्वभावमा पुग्न नदिने अवस्थामा सोही स्थानबाट उन्मुक्त हुनको लागि प्रदान गरिएको दिव्य ज्ञान नै योग हो ।’

उनले योगलाई मानिसले आफ्नो जीवनमा पालना गर्दा वास्तविक स्वरूप पहिचान गर्न, आत्मिक शान्ति प्राप्त गर्न तथा जीवनलाई सन्तुलित बनाउन सहयोग पुर्याउने बताए ।

योग विद्यालाई मानव जीवनको समग्र विकासका लागि अत्यन्त महत्वपूर्ण महाविद्या भएको बताउँदै उनले योग केवल शारीरिक अभ्यास मात्र नभई मानिसलाई नैतिकता, संस्कार र प्रकृतिसँग सामञ्जस्यपूर्ण जीवनयापन गर्न सिकाउने जीवनदर्शन भएको बताए ।

आचार्य शर्माका अनुसार हिमालय हिमवत खण्डको नेपाल भूमि प्राचीनकालदेखि शिव र ऋषि परम्परा, देवस्थल र तपोस्थलका रूपमा परिचित छ । यही भूमिमा अनेकौं धार्मिक तथा दार्शनिक ग्रन्थहरूको रचना भएको र विभिन्न योग दर्शनहरूको प्रादुर्भाव भएको हो ।

उनले भने, ‘योग विद्यालाई मनुष्यले आफ्नो जीवनमा परिपालन गर्दा राम्रो हुन्छ । योग विद्याले जुनसुकै व्यक्तिलाई पनि एउटा नैतिकता र संस्कारको बाटो हिड्न सिकाउँछ । योग प्रकृतिसँग मिलेर बाँच्न सिकाउने एउटा महाविद्या हो । जुन महाविद्या हिमालय वा हिमवत खण्ड नेपाल भूमिबाट प्रादुर्भाव भयो । जहाँबाट अनेकौं ग्रन्थहरु लेखिएर वा दर्शनहरु उत्पादन भए त्यही भूमिमा योग दर्शनको प्रादुर्भाव भएको हो ।’

उनले योगलाई केवल शारीरिक अभ्यास वा स्वास्थ्य सुधारको माध्यमका रूपमा मात्र नहेर्न आग्रह गरे । उनका अनुसार योग भनेको जीवस्वरूपमा पृथ्वीमा आएको मनुष्य अर्थात् व्यक्तिगत अस्तित्वलाई व्यापक सार्वभौमिक चेतना (कलेक्टिभ कन्ससनेस)सँग जोड्ने विज्ञान हो ।

उनले भने, ‘वेद र आयुर्वेदसँग योग सम्बन्धित छ । योग भनेकै मनुष्य अथवा हामी इन्डिभिजुअल पर्सन र कलेक्टिभ कन्ससरेसमा जोडिनु हो ।’

योग केवल शारीरिक व्यायाम नभई ‘मुक्ति विद्या’ भएको बताए । आचार्य शर्माले योग र दर्शनबीच घनिष्ठ अन्तरसम्बन्ध रहेको उल्लेख गर्दै विभिन्न आध्यात्मिक तथा दार्शनिक परम्पराहरूलाई ‘सिस्टर फिलोसफी’का रूपमा बुझ्न सकिने बताए ।

‘योग भनेको मुक्ति विद्या हो र यसैको एउटा इन्टरलिक्ट एक अर्काको यसलाई सिस्टर फिलोसफीको रुपमा लिन सकिन्छ । जुन अन्तरसम्बन्धित छ,’ उनले भने ।

उनका अनुसार आयुर्वेदका नियम र सिद्धान्तहरूको पालनाविना पूर्ण मुक्ति प्राप्त गर्न कठिन हुन्छ । साथै, आयुर्वेदका साधकहरूले पनि यौगिक अभ्यास र प्रक्रियालाई आत्मसात नगरेसम्म शरीर, मन र चेतनाको समग्र शुद्धीकरण सम्भव नहुने उनको भनाइ छ ।

‘योगीले आयुर्वेदका नियम पालना नगरी मुक्त हुन सक्दैन । आयुर्वेदले पनि आयुर्वेदका साधकहरुले यौगिक प्रक्रिया नअपनाइकन उसको शुद्धिकरण हुँदैन । उन्मुक्त हुनु भनेकै परब्रह्ममा मिल्नु अथवा बोध हुनु, बुद्ध, शिव वा कृष्ण बन्नु हो,’ उनले भने ।

आचार्य शर्माले वेद, योग र आयुर्वेदको अन्तिम लक्ष्य मानव चेतनाको उच्चतम अवस्था हासिल गर्नु रहेको उल्लेख गरे ।

योगलाई विभिन्न व्यक्तिले आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सक्ने उल्लेख गर्दै उनले रोगीका लागि योग उपचार पद्धति, योगीका लागि मुक्तिको मार्ग र गृहस्थका लागि सुखी जीवनको आधार भएको बताए । उनका अनुसार योग महासागर जस्तै हो, जसबाट मानिसले आफ्नो आवश्यकता अनुसार लाभ लिन सक्छ ।

उनले भने, ‘योग रोगीहरुको लागि चिकित्सा पद्धति हो । योगीहरुका लागि मुक्तिको बाटो हो, गृहस्थका लागि सुखी वा दिनचर्याको बाटो हो । यो महासागर हो, जसले जे लिन सक्छ त्यो त्यही बनाउन सक्छ । पानीबाट समुद्र बन्छ, कसैले चिया बनाउँछ कसैले जुस बनाउँछ, कसैले बरफ बनाउँछन् । त्यसैले योग एउटा महादर्शन हो ।’

उनका अनुसार योगबाट प्राप्त हुने सबैभन्दा ठूलो उपलब्धि भनेको रिस, लोभ, मोह, चिन्ता र तनाव नकारात्मक सोच कम हुँदै जानुपनि हो ।

‘योगबाट सबै गुम्दै जान्छ । के गुम्छ भन्दा रिस, लोभ, मोह र चिन्ता गुम्छ,’ उनले भने ।

योग र ध्यानबीचको सम्बन्ध

योग र ध्यानबीचको सम्बन्धबारे प्रष्ट पार्दै उनले ध्यान योगकै एउटा महत्वपूर्ण अंग भएको बताए । योगलाई केवल आसन र शारीरिक अभ्यासका रूपमा बुझ्ने गरेकाले ध्यान र योग फरक विषय हुन् भन्ने भ्रम पैदा भएको बताए । उनले अष्टाङ्ग योगका आठ चरण यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि रहेको उल्लेख गर्दै ध्यान योगको अभिन्न अङ्ग भएको बताए ।

उनले भने, ‘योग र ध्यानमा के भिन्नता छ भने ध्यान नै योगको एउटा अङ्ग हो । ध्यान अलग र योग अलग होइन । त्यसकारणले योगलाई ध्यान भन्नु नै गलत हो।’

‘रुख भएपछि त्यसको जरा फेदमा आउँछ भने जस्तै ध्यान पनि योगीहरुको विभिन्न चरणवद्ध रुपमा गरिने साधना पद्धति मध्येको एक हो । ध्यान भनेको आसन पनि हो । आसन मात्र योग होइन । कतिले आसनलाई मात्र योग बुझ्दा योग र ध्यान फरक भएको हो । तर योग अन्तर्गत नै सबै पर्छ,’ उनले भने ।

शर्माले योग र ध्यानलाई फरक–फरक रूपमा बुझ्ने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसबारे स्पष्ट धारणा व्यक्त गरे । उनले रुख र त्यसको जराको उदाहरण दिँदै योग र ध्यानको सम्बन्धलाई व्याख्या गरे ।

‘रुख भएपछि त्यसको जरा फेदमै हुन्छ भने जस्तै ध्यान पनि योगीहरूले विभिन्न चरणमा गर्ने साधना पद्धतिमध्ये एक हो,’ उनले भने, ‘ध्यान भनेको आसन होइन। आसन मात्र योग पनि होइन । कतिपयले आसनलाई मात्रै योग सम्झिँदा योग र ध्यान फरक हुन् भन्ने भ्रम पैदा भएको छ ।’

उनले पछिल्लो समय धेरै मानिसले आसनलाई मात्र योगका रूपमा बुझ्ने गरेको उल्लेख गर्दै योगको वास्तविक स्वरूप अझ व्यापक रहेको बताए ।

नेपालमा राष्ट्रिय योग दिवस माघ ११ गते मनाइने विषयमा बोल्दै योगाचार्य शर्माले नेपालका योगी तथा साधकहरूले यस मितिलाई अन्तर्राष्ट्रिय स्तरमै योग दिवसका रूपमा मान्यता दिलाउने प्रयास गरेको बताए । यद्यपि, अन्तर्राष्ट्रिय समुदायले जुन २१ लाई स्वीकार गरेपछि नेपालले आफ्नो ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक महत्वलाई ध्यानमा राख्दै माघ ११ लाई राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालेको उनले बताए ।

उनले हाल विश्व ध्यान दिवससमेत घोषणा भइसकेको उल्लेख गर्दै नेपाल ध्यानको उद्गमस्थल भएकाले राष्ट्रिय ध्यान दिवस मनाउनुपर्ने आवश्यकता रहेको बताए । भगवान बुद्धको जन्मभूमि नेपाल भएकाले बुद्ध जयन्तीको अवसरमा ध्यान दिवस मनाउन सकिए त्यसले विश्व शान्ति र ध्यान संस्कृतिको प्रवद्र्धनमा थप योगदान पुग्ने उनको विश्वास छ ।

उनले मानिसहरूले जीवनमा केही आधारभूत आसन, प्राणायाम र अनुशासित दिनचर्या अपनाउनुपर्ने सुझाव दिए । जिब्रो, मन र व्यवहारमा संयम राख्दै प्रकृतिसँग सामञ्जस्यपूर्ण जीवनशैली अपनाउनसके जीवन सहज, स्वस्थ र आनन्दमय बन्ने उनको विश्वास छ । मानिसले ‘जे प्राप्त छ त्यही पर्याप्त छ’ भन्ने सन्तोषको भाव विकास गर्न सके प्रतिस्पर्धा, ईष्र्या, जलन र असन्तुष्टि स्वतः कम हुँदै जाने उनले बताए ।

उनका अनुसार आधुनिक जीवनशैलीले मानिसलाई अत्यधिक भागदौड, तनाव र असन्तुलनतर्फ धकेलिरहेको अवस्थामा योगले आत्मसन्तुष्टि, मानसिक शान्ति र जीवनप्रतिको सकारात्मक दृष्टिकोण प्रदान गर्नसक्छ । योग केवल शरीरको अभ्यास नभई जीवनलाई सही ढंगले जिउने कला भएकाले यसको महत्व भविष्यमा अझ बढ्दै जाने उनको निष्कर्ष छ ।

योगको अभ्यास गर्ने व्यक्ति स्वार्थभन्दा माथि उठेर समाज, राष्ट्र र विश्वप्रति जिम्मेवार बन्ने भएकाले यसले समग्र मानव सभ्यतालाई सकारात्मक दिशातर्फ अघि बढाउन मद्दत गर्ने उनले बताए ।

पार्वती भण्डारी, नेपाल न्यूज बैंक