बाढी प्रभावित थप सात स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा सुचारु

Headlines समाचार

काठमाडौँ — नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा मोबाइल सेवा सुचारु गरेको छ। कम्पनीले आइतबार रसुवाका पाँच र नुवाकोटका दुईवटा बीटीएस साइट सञ्चालनमा ल्याएको हो।

नेपाल टेलिकमका अनुसार रसुवाको नेपाल–चीन सीमामा रहेको रसुवा बोर्डरसहित अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ बीटीएस साइट सञ्चालनमा आएका छन्। नुवाकोटको चारघरे र चारघरे मुलाबारी बीटीएस साइट पनि सञ्चालनमा ल्याइएको छ।

रसुवा बोर्डर बीटीएस साइट सञ्चालनमा आएसँगै नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर तथा स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म मोबाइल सेवा पुनः सञ्चालन भएको टेलिकमले जनाएको छ।

अपर सेन्जेन साइटबाट चिलिमे, लामागाउँ तथा आमाछोङदिमो गाउँपालिका–५ लगायतका क्षेत्रमा सेवा उपलब्ध हुनेछ। छापथोके साइटबाट बेत्रावती, काउली, त्रिशूली थ्री ‘बी’, उत्तरगया गाउँपालिका र किस्पाङ क्षेत्रमा मोबाइल सेवा सञ्चालन भएको छ।

जिपजिपे साइटबाट कालिका गाउँपालिकाका वडा नम्बर २ र ५, धारापानी तथा देउरालीडाँडामा सेवा उपलब्ध हुनेछ। गत्लाङ बीटीएस साइट सञ्चालनमा आएपछि गत्लाङ, गोल्जुङ, चिलिमे, ठूलो भार्खु, शेर्पागाउँ, ठूलो स्याफ्रु, स्याफ्रुबेसी, खाङजुम र बरिम क्षेत्रमा मोबाइल सेवा सुचारु भएको छ।

त्यस्तै, चारघरे र चारघरे मुलाबारी बीटीएस साइटबाट विदुर नगरपालिकाका वडा नम्बर १२ र १३ मा मोबाइल सेवा सञ्चालनमा आएको कम्पनीले जनाएको छ।

बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रमा मोबाइल सेवा अवरुद्ध भएको थियो। कम्पनीले प्राविधिक टोली परिचालन गरी अधिकांश बीटीएस साइट पुनः सञ्चालनमा ल्याएको जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन प्राविधिक टोली निरन्तर परिचालित रहेको टेलिकमले जनाएको छ। कम्पनीले प्रभावित क्षेत्रमा बाँकी संरचना पनि यथाशीघ्र सञ्चालनमा ल्याउने काम भइरहेको बताएको छ।