काठमाडौं । नेपालस्थित अमेरिकी दूतावास, नेपाल पर्यटन बोर्ड र सेभेन समिट ट्रेक्सको साझेदारीमा आयोजित ‘एसेन्ट समिट २०२६’ आज काठमाडौंमा हुँदैछ । ठमेलस्थित एलोफ्ट काठमाडौंमा आयोजना हुने एकदिने समिटले सगरमाथा तथा पर्वतारोहण क्षेत्रको वर्तमान अवस्था, चुनौती र भविष्यका सम्भावनाबारे गहन छलफल गर्ने आयोजकले जनाएको छ ।
समिटमा पर्वतारोही, अभियान नेता, गाइड, उद्धारकर्मी, साहसिक खेलाडी, नवप्रवर्तक, पर्यटन व्यवसायी, पत्रकार तथा सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ । कार्यक्रममार्फत सगरमाथा र हिमाली पर्यटनसँग सम्बन्धित अनुभव, प्रविधि, सुरक्षा, नेतृत्व, पर्यटन व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा बहस गरिनेछ ।
मुख्य सम्बोधन, प्यानल छलफल, विशेषज्ञ सत्र, कथावाचन, प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक प्रदर्शनीहरू समेटिएको समिटले सगरमाथा आरोहणको बदलिँदो स्वरूप र त्यसले पर्वतारोहण तथा पर्यटन उद्योगमा पार्ने प्रभावबारे केन्द्रित हुनेछ। आयोजकका अनुसार कार्यक्रमले पर्वतारोहण समुदाय, पर्यटन क्षेत्र, सञ्चार, संस्कृति, व्यवसाय र नवप्रवर्तनबीच सहकार्यको नयाँ आधार निर्माण गर्ने अपेक्षा गरिएको छ ।

समिटमा विश्वप्रसिद्ध पर्वतारोही कोनराड एन्कर, जस्टिन स्याकेट, बेन आयर्स, दावा याङ्जुम शेर्पा, लाक्पा शेर्पा, तेन्जिन डेभिड शेर्पा, मिङ्मा डेभिड शेर्पालगायत नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागिता रहनेछ । त्यस्तै, संयुक्त राज्य अमेरिकाकी सार्वजनिक कूटनीतिका लागि विदेश उपसचिव सारा रोजर्स, प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति सुनिमा उदास तथा नेपालका लागि अमेरिकी दूतावासका चार्ज डी’एफेयर्स स्कट उर्बोमले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा सन् २०२६ को सगरमाथा आरोहण सिजनमा डोरी तथा सुरक्षा प्रणाली स्थापना गरेर महत्वपूर्ण योगदान पुर्याएको १० सदस्यीय ‘एलिट शेर्पा टोली’लाई सम्मान गरिनेछ ।
एभरेष्ट रोप फिक्सिङ टिमका रूपमा परिचित उक्त टोलीले सगरमाथाका कठिन तथा जोखिमपूर्ण भागहरूमा सुरक्षित आरोहण मार्ग तयार गरी विश्वभरका आरोहीलाई सहयोग पुर्याएको आयोजकको भनाइ छ ।
समिटमा सांस्कृतिक प्रस्तुतीकरण र विशेष प्रदर्शनीहरू पनि रहनेछन्। सगरमाथाबाट संकलित करिब ९० किलोग्राम फोहोरबाट निर्माण गरिएको ‘द यती’ नामक विशाल मूर्तिकला तथा उच्च हिमाली अभियानको वास्तविक अनुभव झल्काउने ‘अ डे इन अ क्लाइम्बर्स लाइफ’ प्रदर्शनीले सहभागीहरूको विशेष ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सार्वजनिक कूटनीतिका लागि अमेरिकी विदेश उपसचिव सारा रोजर्सको मुख्य मन्तव्य, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करको प्रस्तुतीकरण तथा विश्वप्रसिद्ध पर्वतारोही कोनराड एन्करको समापन सम्बोधन रहनेछ। वक्ताहरूले सगरमाथाबाट प्राप्त अनुभव, चुनौती र अवसरबारे आफ्ना धारणा राख्दै पर्वतारोहण क्षेत्रको दिगो विकासका लागि आवश्यक अन्तर्राष्ट्रिय सहकार्य र नेतृत्वबारे विचार प्रस्तुत गर्नेछन् ।
पर्वतारोही, गाइड, अभियान सञ्चालक, उद्धारकर्मी, पर्यटन व्यवसायी, साहसिक खेलाडी, शिक्षक, सञ्चारकर्मी तथा हिमाली पर्यटनसँग सम्बन्धित सरोकारवालाहरूका लागि समिटमा सहभागिता निःशुल्क राखिएको छ । यद्यपि सीमित क्षमताका कारण पूर्वदर्ता र छनोट प्रक्रिया लागू गरिएको आयोजकले जनाएको छ ।
