पर्यटक आगमन बढ्दा पनि प्रतिपर्यटक खर्च घट्यो

पर्यटन

काठमाडौं । नेपालमा पर्यटक आगमन बढ्दा पनि प्रतिपर्यटक खर्च घटेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२÷८३ अनुसार सन् २०२५ मा पर्यटक आगमन, भ्रमण आय, बसाइ अवधि तथा पर्वतारोहण गतिविधि विस्तार भए पनि प्रतिपर्यटक औसत दैनिक खर्च भने घटेको पाइएको हो ।

सन् २०२४ को तुलनामा सन् २०२५ मा नेपाल आउने पर्यटकको संख्या १ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । पर्यटक आगमन बढेसँगै पर्यटन क्षेत्रबाट हुने भ्रमण आय पनि ४ दशमलव ८ प्रतिशतले बढेको छ । सर्वेक्षणअनुसार सन् २०२४ मा पर्यटन क्षेत्रबाट ८३ अर्ब ३९ करोड ४० लाख रुपैयाँ भ्रमण आय प्राप्त भएको थियो । सन् २०२५ मा उक्त आय बढेर ८७ अर्ब ३७ करोड १६ लाख रुपैयाँ पुगेको छ ।
पर्यटकको औसत बसाइ अवधि पनि बढेको छ । सन् २०२४ मा प्रतिपर्यटक औसत बसाइ अवधि १३ दशमलव ३० दिन रहेकोमा सन् २०२५ मा बढेर १६ दशमलव ३४ दिन पुगेको छ ।

तर बसाइ अवधि बढे पनि प्रतिपर्यटक औसत दैनिक खर्च भने घटेको देखिएको छ । सन् २०२४ मा प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४० दशमलव ८४ अमेरिकी डलर रहेकोमा सन् २०२५ मा घटेर ३३ दशमलव शून्य ८ अमेरिकी डलरमा सीमित भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणले सन् २०२५ देखि केन्द्रीय विद्युतीय पर्यटन व्यवस्थापन सूचना प्रणालीमार्फत अध्यागमन विभागले पर्यटकको आगमन र प्रस्थान मिति स्वचालित रूपमा गणना गर्न थालेपछि औसत खर्चको तथ्यांकमा असर परेको जनाएको छ ।

नेपाल भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा धेरै ६० दशमलव २ प्रतिशत पर्यटक विदा तथा मनोरञ्जनका लागि आएका थिए । तीर्थयात्राका लागि १४ दशमलव ४ प्रतिशत, पदयात्रा तथा पर्वतारोहणका लागि १४ दशमलव २ प्रतिशत र व्यापार, अध्ययन तथा अन्य प्रयोजनका लागि ११ दशमलव २ प्रतिशत पर्यटक नेपाल आएका थिए ।

यता पर्वतारोहण गतिविधि विस्तारसँगै रोयल्टी आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको छ । सन् २०२४ मा पर्वतारोहणबाट ९२ करोड ५८ लाख रुपैयाँ रोयल्टी संकलन भएकोमा सन् २०२५ मा बढेर १ अर्ब २६ करोड २८ लाख रुपैयाँ पुगेको छ ।