काठमाडौं । डिम्ब तस्करी प्रकरणमा मुछिएकी पूर्वमहान्याधिवक्ता सबिता भण्डारी बराललाई हालसम्म पक्राउ नगरिएको भन्दै अभियन्ता किरण बिकले सरकारप्रति आक्रोश व्यक्त गरेका छन्।
किरण बिकले विगत ६ महिनादेखि डिम्ब तस्करीको आरोप लागेको ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’ तथा त्यससँग सम्बन्धित चिकित्सक र सञ्चालकविरुद्ध एकल प्रदर्शन तथा विरोध कार्यक्रम गर्दै आएको बताएका छन्। यति लामो आन्दोलन हुँदा पनि सरकार, प्रहरी प्रशासन, नागरिक समाज र सञ्चारमाध्यमले विषयलाई गम्भीर रूपमा नलिएको भन्दै अबको आन्दोलन अझ बृहत् बनाइने चेतावनी उनले दिएका छन्।
काठमाडौंको बबरमहलस्थित ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’मा १८ वर्षमुनिका किशोरीहरूको डिम्ब निकालेर बिक्री गरिएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान अघि बढाएको छ।
प्रलोभनमा पारेर किशोरीहरूको डिम्ब निकालिएको उजुरीपछि डा. अश्मि अधिकारी, डा. स्वस्ती शर्मा, डा. मालिना चौधरी, जस्टिना प्रधान र एलिसा वलीलाई नियन्त्रणमा लिएर बयान लिइएको थियो। पछि उनीहरूलाई हाजिरी जमानीमा रिहा गरिएको प्रहरीले जनाएको छ।
किरण बिकका अनुसार बिचौलियामार्फत गरिब तथा असहाय किशोरीहरूलाई आर्थिक प्रलोभन देखाएर गैरकानुनी रूपमा डिम्ब सङ्कलन गरिएको थियो। सीआईबीका अनुसार किशोरीहरूलाई १० देखि १५ हजार रुपैयाँसम्म दिएर औषधि र इन्जेक्सनमार्फत डिम्ब निकालिएको आरोप छ।
मानव बेचबिखन तथा बालअधिकार उल्लङ्घनजस्तो गम्भीर मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले सुरुमा ‘मुद्दा नचलाउने’ निर्णय गरेपछि यस प्रकरणले कानुनी र राजनीतिक वृत्तमा व्यापक विवाद सिर्जना गरेको थियो।
काठमाडौंको बबरमहलस्थित ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’मा १८ वर्षमुनिका किशोरीहरूको डिम्ब निकालेर बिक्री गरिएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान अघि बढाएको छ।

