मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिकाभित्र रहेका विभिन्न पाटन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि जेठ १३ गतेदेखि एक महिनासम्म पाटन खुला गरिने भएको छ।
गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले जेठ १३ गतेदेखि यार्सा संकलन खुला गर्ने निर्णय गरेको हो। गाउँपालिकाले जिल्ला बाहिरबाट आउने व्यक्तिका लागि प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ तथा जिल्लाभित्रकाका लागि २ हजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरेको जनाएको छ।
गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाका अनुसार प्रवेश शुल्क नतिरी लुकीछिपी यार्सा संकलन गर्ने जो–कोहीलाई कारबाही गरिनेछ।
चैत महिनादेखि पाटन क्षेत्रमा यार्सा उम्रिन सुरु हुने र जेठ महिनाबाट स्थानीयवासीले संकलन गर्ने गरेका छन्। यार्सा संकलनका क्रममा वातावरणीय क्षति नपु¥याउन गाउँपालिकाले आग्रह गरेको छ।

संकलन क्षेत्रमा सिसा तथा प्लास्टिकजन्य वस्तु नफाल्न, जथाभावी रुखबिरुवा नकाट्न तथा चोरी नगर्न पनि गाउँपालिकाले सचेत गराएको छ। अध्यक्ष लामाका अनुसार गाउँपालिकाको आधिकारिक सूचना जारी हुनुअघि नै यार्सा चोरी गर्न पुगेका २५ जनालाई वैशाख २४ गते सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए।
यार्सा संकलन अवधिमा चोरी, डकैती तथा लुटपाट नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गरिनेछ भने पाटन क्षेत्रमा स्वास्थ्यकर्मीसमेत खटाइने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाअन्तर्गत सानो कोइकी, ठूलो कोइकी, रिमार, टाके, हाङदाङखोला, छापाखोलालगायत दुई दर्जनभन्दा बढी पाटन क्षेत्रमा प्रशस्त यार्सा पाइने गरिएको छ।
यार्सा संकलनका लागि कर्णालीका १० वटै जिल्लासहित बाजुरा, अछाम, बझाङ, पोखरा, मनाङ, मुस्ताङ र सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लाबाट सर्वसाधारण पाटनमा पुग्ने गरेका छन्। संकलकबाट यार्सा खरिद गर्न काठमाडौं, पोखरा, बझाङ र डोल्पाबाट व्यापारीसमेत पाटन क्षेत्रमा पुग्ने गरेका छन्।
