काठमाडौं । अर्थ मन्त्रालय ले नौ वटा मन्त्रालयका विभागीय मन्त्रीहरूको सहभागितामा मन्त्रालयगत बजेट छलफल सम्पन्न गरेको छ ।
सोमबार बिहान ११ बजेबाट सुरु भएको मन्त्रालयगत बजेट छलफल साँझ साढे ७ बजे सम्पन्न भएको हो । मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले निर्धारण गरेको समय तालिकाअनुसार सुरु भएको छलफल मंगलबारसम्म निरन्तर चल्नेछ ।
सोमबार गृह मन्त्रालय सँग छलफलको सुरुआत गरिएको थियो । त्यसपछि क्रमशः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सँग बजेट छलफल गरिएको हो ।

छलफलमा स्वर्णिम वाग्ले को नेतृत्वमा अर्थ मन्त्रालयका अर्थ तथा राजश्व सचिव, बजेट लेखन समितिका संयोजक तथा सदस्यहरू, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख तथा सम्बन्धित शाखा प्रमुखहरूले सहभागी मन्त्रालयका मन्त्री, सचिव तथा जिम्मेवार अधिकारीहरूसँग आगामी आर्थिक वर्षको बजेट खाका, नीति तथा कार्यक्रम, प्रस्तावित बजेट र स्रोत व्यवस्थापनबारे विस्तृत छलफल गरेका थिए ।
छलफलमा श्रम तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिना, शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल लगायत सम्बन्धित मन्त्रालयका सचिवहरू सहभागी रहेका थिए ।
बाँकी मन्त्रालयहरूसँगको बजेट छलफल मंगलबार सम्पन्न गरिने जनाइएको छ ।
