२०८३ बैशाख १६

नेपाली कांग्रेस अनुशासन समितिको निर्णयः रामेछाप सभापति पूर्णबहादुर तामाङ निलम्बित

Headlines राजनीति

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई सभापति पदबाट निलम्बन गर्ने निर्णय गरेको छ।

समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आइतबार बसेको बैठकले अनुशासन उल्लंघनसम्बन्धी विभिन्न विषयमा निर्णय गरेको हो।

बैठकले तामाङलाई पार्टी नेतृत्वविरुद्ध बदनियतपूर्वक भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको आरोपमा यसअघि स्पष्टिकरण सोधिएकोमा उनले दिएको जवाफ प्रारम्भिक रूपमा सन्तोषजनक र चित्तबुझ्दो नदेखिएको निष्कर्ष निकालेको जनाएको छ । यस विषयमा थप अनुसन्धान आवश्यक रहेको र उनी सभापति पदमै रहँदा अनुसन्धान प्रभावित हुन सक्ने ठहर गर्दै निर्णय नहुन्जेलसम्मका लागि उनलाई पदमा रही कामकाज गर्न नपाउने गरी आजैदेखि निलम्बन गरिएको हो।

त्यस्तै, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खडकालाई पदीय जिम्मेवारीका सम्बन्धमा सोधिएको स्पष्टिकरणबारे सर्वोच्च अदालतको वैशाख ४ गतेको फैसलापछि उक्त निर्णयको औचित्य समाप्त भएको भन्दै सो प्रक्रिया तामेलीमा राख्ने निर्णय गरिएको छ ।

यस्तै, २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा अनुशासन उल्लंघन भएको भन्दै विभिन्न जिल्लाका जिम्मेवार व्यक्तिहरू तथा उम्मेदवारहरूले दिएका उजुरीहरूको वर्गीकरण सम्पन्न भएको समितिले जनाएको छ ।

उक्त प्रकरणमा आरोपित व्यक्तिहरूसँग नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ (१) बमोजिम सात दिनभित्र स्पष्टिकरण (सफाइ) माग्ने निर्णय गरिएको छ। स्पष्टिकरणका लागि ईमेल, हुलाक तथा कुरियरमार्फत पत्राचार गरिने पनि जनाइएको छ।