काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा नबिल बैंकले ग्राहकको व्यक्तिगत विवरण र कारोबारको गोपनीयता भंग गरेको भनी आएका समाचारप्रति बैंकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता समाचारलाई ‘आधारहीन, प्रमाणविहीन र नियोजित दुष्प्रचार’ को संज्ञा दिएको छ।
कान्तिपुरको समाचार र बैंकको प्रष्टीकरण
बैंकले गत वैशाख ९ गते कान्तिपुर दैनिकमा प्रकाशित गृहमन्त्री गुरुङको कारोबार सम्बन्धी समाचारको सन्दर्भ जोड्दै स्पष्ट पारेको छ कि, सो समाचारमा कान्तिपुर आफैँले ‘अनुसन्धानरत निकायबाट प्राप्त विवरण’ भनी उल्लेख गरेको छ। तर, केही तत्वले सोही समाचारलाई बंग्याएर बैंकको विरुद्धमा नियोजित रुपमा भ्रम फैलाएको बैंकको दाबी छ।
गोपनीयताका लागि कडा सुरक्षा प्रणाली
नबिल बैंकले आफ्ना सरोकारवालाहरूलाई निम्न कुरामा आश्वस्त पारेको छ:

कानुनी प्रक्रिया: ग्राहकको अनुमति वा नियामक/अनुसन्धानकारी निकायको कानुनी मागबाहेक बैंकले कसैलाई पनि विवरण उपलब्ध गराउँदैन।
डिजिटल ट्रयाकिङ: बैंकको कोर बैंकिङ सिस्टममा कुन कर्मचारीले कुन मितिमा विवरण हेरेको हो भन्ने कुराको पूर्ण र सुरक्षित रेकर्ड रहन्छ।
अन्तर्राष्ट्रिय मापदण्ड: चार दशकको इतिहास बोकेको बैंकले बैंकिङ नैतिकता र सूचना गोपनीयताको उच्चतम मापदण्ड पालना गर्दै आएको छ।
कानुनी कारबाहीको चेतावनी
बैंकको छविमा आँच पुऱ्याउने र जनमानसमा भ्रम फैलाउने गरी गरिएका यस्ता क्रियाकलाप विरुद्ध बैंकले कडा कदम चाल्ने संकेत गरेको छ। विज्ञप्तिमा भनिएको छ, “नियोजित दुष्प्रचार गर्नेहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ र प्रचलित कानुन अनुसार कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन बैंक बाध्य हुनेछ।”
बैंकले आफ्ना सम्पूर्ण ग्राहकवर्गलाई यस्ता भ्रामक र तथ्यहीन हल्लाको पछि नलाग्न र बैंकको सुरक्षित सेवामा ढुक्क हुन समेत अनुरोध गरेको छ।
यो पनि पढ्नुहोस्: नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई अटो सहयोग
