खत्याडबासिलाई सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य

समाचार

दान बहादुर बुढा, नेपाल न्यूज बैंक

मुगु । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिकाका बासिन्दाका लागि लामो समय देखि झेल्दै आएको प्रशासनिक सास्ती अन्ततः अन्त्यतिर उन्मुख भएको छ । रारा राष्ट्रिय निकुञ्ज का कारण सदरमुकाम गमगढीसँग प्रत्यक्ष सडक सञ्जाल जोडिन नसकेको यस क्षेत्रका नागरिकहरू अब नागरिकता,राहदानी,मालपोत तथा नापीसम्बन्धी सेवा आफ्नै गाउँपालिकाबाटै पाउने भएका छन् ।

बुधबार देखि खत्याड गाउँपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालय स्थापना भई औपचारिक रूपमा सेवा प्रवाह सुरु भएको हो। गाउँपालिकाभित्रै रहेको भवनबाट सुरु गरिएका यी कार्यालयहरूले अब जिल्ला स्तरबाट प्रदान हुने अधिकांश सेवाहरू स्थानीय तहबाटै उपलब्ध गराउनेछन् ।

यसअघि खत्याडका सर्वसाधारण नागरिकता, राष्ट्रिय परिचयपत्र, जग्गा दर्ता, नाप जाँच लगायतका कामका लागि दुई दिनसम्म पैदल यात्रा वा सडक यातायात प्रयोग गरी जुम्ला, बाजुरा वा हुम्ला हुँदै सदरमुकाम गमगढी पुग्न बाध्य थिए। सामान्य प्रशासनिक कामकै लागि ५ हजारदेखि १० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो, जसले आर्थिक मात्र नभई शारीरिक रूपमा पनि ठुलो कष्ट निम्त्याएको स्थानीयहरूले बताएका छन् ।
खत्याड गाउँपालिका–३ का स्थानीय गगन बुढा भन्छन्, “सडक सञ्जाल नहुँदा नागरिकता बनाउन वा अन्य कामका लागि सदरमुकाम पुग्न निकै दुःख थियो। विशेष गरी वृद्ध वृद्धा र अपाङ्गता भएका व्यक्तिहरूलाई झन् समस्या हुन्थ्यो। अब गाउँमै सेवा पाइने भएपछि हामीलाई ठुलो राहत मिलेको छ ।

सोही गाउँपालिका—७ की दुवु डागर भन्छिन् नागरिता वा अन्य सरकारी कामकै लागी सदरमुकाम पुग्न १ दनि खेखी २ दिन पैदल हिँड्नु पर्ने बाध्यता थियो । वडाबाट लिएको सिफारिस मिलेन भने फेरी गाउँमै फर्केर अर्को दिन सदरमुकाम पुगेका स्थानीयहरू धेरै घटना छन् । अब गाउँपालिकामै सबै सेवा पाउने भएपछि स्थानीयहरूले त्यस्ता दुःख काष्ठ कमै पाउने उनले बताइन ।

बुधवारदेखि सञ्चालनमा आएका यी तीन वटै कार्यालयले नागरिकता वितरण, राष्ट्रिय परिचयपत्र दर्ता, जग्गा प्रशासन तथा नाप जाँच सम्बन्धी सम्पूर्ण कार्यहरू स्थानीय स्तरमै उपलब्ध गराउनेछन्। यससँगै खत्याडका बासिन्दाले अब सामान्य प्रशासनिक कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए ।

तिन वटै कार्यालय स्थापनका लागी खत्याड पुगेका गृह मन्त्रालय अन्तर्गत प्रशासन महाशाखाका सह सचिव काली प्रसाद पराजुली ले दुर्गम क्षेत्रमा सेवा पहुँच विस्तार गर्नु राज्यको प्राथमिकता भएको बताउँदै भने, ‘खत्याडमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापना हुनु सेवा विकेन्द्रीकरणको महत्त्वपूर्ण कदम हो । यसले स्थानीय नागरिकलाई समय, लागत र श्रम बचत गर्दै सहज रूपमा सेवा लिन मद्दत पु¥याउनेछ ।’
त्यस्तै, सुशासन र नागरिक अधिकारका अभियन्ता अनिल बानियाँ ले यस कदमलाई सकारात्मक परिवर्तनको सुरुआतका रूपमा व्याख्या गर्दै भने, राज्यका सेवा नागरिकको ढोकासम्म पु¥याउनु नै वास्तविक समावेशी शासन हो । खत्याडमा सुरु भएको यो अभ्यास अन्य दुर्गम क्षेत्रका लागि पनि उदाहरण बन्न सक्छ ।

उनले भने खत्याडमा ईलका प्रशासन कार्यालय स्थापनका लागी केपी ओलीको सरकारको पालमा कुरो उठेको भएपनी पूर्ण हुन सकेको थिएन । यो विषयमा जिल्लाबाट निर्वाचित माननीय लगायत राजनीतिक दलका प्रतिनिधीहरुले कसैले पहल गरेनन् । खत्याडबासिको अवस्थालाई मध्यनजर गर्दै सुशीला कार्की देखी बालेन सरकार सम्म मन्त्री र मन्त्रालयका सचिव सम्म कार्यालय स्थापनका लागी आफैले पहल गरी यो अवस्थामा पुगी गाउँपालिकामै खत्याडबासिलाई सेवा पाउने अवस्थामा पुगेको बताए ।

खत्याड गाउँपालिकाका अध्यक्ष अज बहादुर शाही ले स्थानीय तहबाटै सेवा प्रवाह सुरु हुनु गाउँपालिकाको ठूलो उपलब्धि भएको बताए । ‘वर्षौँदेखि नागरिकहरूले झेल्दै आएको समस्या समाधान गर्न हामी निरन्तर पहल गरिरहेका थियौँ। अब यी कार्यालयमार्फत नागरिकले सहज रूपमा सेवा पाउनेछन्, जसले समग्र विकास प्रक्रियामा पनि टेवा पुग्नेछ,’ उनले भने ।

बुधवारदेखि सञ्चालनमा आएका यी तीन वटै कार्यालयले नागरिकता वितरण, राष्ट्रिय परिचयपत्र दर्ता, राहदानी जगा तथा नाप जाँच सम्बन्धी सम्पूर्ण कार्यहरू स्थानीय स्तरमै उपलब्ध गराउनेछन् । यससँगै खत्याडका बासिन्दाले अब सामान्य प्रशासनिक कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए ।

दुर्गम भौगोलिक अवस्था र पूर्वाधार अभावका कारण राज्य सेवाबाट टाढा रहेका खत्याडबासीका लागि यो पहल केवल सेवा विस्तार मात्र नभई सम्मानजनक पहुँचको अनुभूति पनि हो। अब उनीहरूको दैनिकीमा सहजता मात्र होइन, राज्यप्रतिको भरोसा पनि थप बलियो बन्ने अपेक्षा गरिएको जनप्रनिधीहरुको भनाई रहेको छ ।