काठमाडौं : सरकारले व्यवसायी दीपक भट्टलाई विदेश यात्रामा जानबाट रोक लगाएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान सुरु भएपछि उनलाई कालोसूचीमा राखिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्धको अनुसन्धान पुनः सक्रिय बनाएपछि अध्यागमन विभागले भट्टमाथि विदेश यात्रा प्रतिबन्ध लगाएको जनाएको छ।
विवादास्पद व्यापारीका रूपमा चिनिएका भट्ट इन्फिनिटी होल्डिङ्सका प्रमुख हुन्। उनीमाथि ‘सत्ता–शक्ति’मा रहेका राजनीतिक दलका नेता, सार्वजनिक पदाधिकारी तथा कर्मचारीसँग निकट सम्बन्ध प्रयोग गरी ठूला सार्वजनिक खरिदका ठेक्का, जलविद्युत् आयोजना, बैंक तथा बिमा कम्पनीका लाइसेन्स प्राप्त गर्ने, साथै वार्षिक बजेटमा करका दर हेरफेरसम्म प्रभाव पार्ने जस्ता संदिग्ध गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको छ।

भट्ट नेतृत्वको इन्फिनिटी होल्डिङ्समार्फत शंकास्पद आर्थिक कारोबार भएको विवरण फेला परेपछि उनी २०७९ मंसिरमै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा तानिएका थिए।
