‘ग्लोबल मनी विक, २०२६’ को अवसरमा महालक्ष्मी विकास बैंकले देशभरि वित्तिय साक्षरता तथा सचेतना कार्यक्रम गरेको छ । बैंकले चैत २ गतेदेखि ८ गतेसम्म साताव्यापी रुपमा मनी विक मनाएको हो ।
‘स्मार्ट मनी टक्स’ भन्ने मूल नाराका साथ बैंकको दरबारमार्ग, हेटौंडा, इटहरी, भैरहवा, विजयपुर पोखरा, वीरगञ्ज, धनगढी, सूर्यपुरा, डडेल्धुरा, लहान, बिचबजार, मंगलसेन, चिप्लेढुंगालगायत शाखा तथा प्रादेशिक कार्यालयले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
एक हजार बढीको सहभागिता रहेको कार्यक्रममा बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय वित्तिय सेवा, विप्रेषण, गुनासो सुनुवाई, वित्तिय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तिय ठगी र वित्तिय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले जनाएको छ ।

बैंकको नेपालगञ्ज शाखाले युद्ध संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरेको छ । साथै, बैंकको आधिकारिक सामाजिक सञ्जालबाट विभिन्न सचेतनामूलक जानकारी पोष्टसँगै भिडियो सामग्री प्रसारण पनि गरिएको छ । यसबाट किशोर, किशोरी तथा युवायुवतीमा वित्तिय शिक्षाको महत्त्वबारे जागरण ल्याउन सहयोग पुग्ने बैंकको विश्वास छ ।
