कोरोना महामारीसँग जुध्न एडिबी नेपाललाई थप सहयोग गर्न तत्पर

विविध

काठमाडौं , वैशाख २० – कोरोना भाइरस विरुद्धको संघर्षमा एसियाली विकास बैंक (ADB) नेपाललाई सहयोग गर्न पूर्ण प्रतिबद्घ रहेको एडिबीका नेपालका लागि ‘कन्ट्री डाइरेक्टर मुख्तर खामुद्खानोभ (Mukhtor Khamudkhanov) ले हालै एक संचार माध्यमलाई दिएको अन्तर्वार्तामा बताएका छन् ।

२०२० अप्रिल १३ मा घोषणा गरिएको बीस अर्ब डलरको विस्तारित कोभिड–१९ राहत प्याकेज अन्तर्गत विकासका अरु साझेदारहरुसँग सहकार्य गरी नेपाललाई थप सहयोग गर्ने उद्देश्यले एडिबीले तीव्र गतिमा काम गरिरहेको उनले बताएका छन् ।

छिटो र लचकतापूृर्ण कार्यसम्पादनका लागि विशेष ध्यान दिदै एडिबी थप आर्थिक सहायता तथा नीतिगत सल्लाह प्रदान गर्न तयार रहेको पनि बताइएको छ ।

कोरोना भाईरसका कारण विश्वभरिका आम मानिसको स्वास्थ्य र समुन्नतिमा पुग्ने असर र सामाजिक र आर्थिक प्रभावप्रति एसियाली विकास बैङ्क चिन्तित रहेको उनले बताएका छन् । सौभाग्यवस अहिलेको अवस्थामा अन्य केही देशको तुलनामा नेपालमा वास्तविक सङ्क्रमितको सङ्ख्या धेरै छैन । लकडाउन, सामाजिक दूरी, परीक्षण, खोजी र क्वारेन्टिनको माध्यमबाट यसको तीव्र विस्तार रोक्न सकिने उनले बताएका छन् । कोभिड–१९ महामारीले उद्योग तथा सेवा क्षेत्रमा पनि अवरोध सृजना गरेको; पर्यटन, विप्रेषण प्रवाह रेमिट्यान्स, आन्तरिक व्यापार तथा यातायातमा निकै असर गरेको र विशेष गरी विपन्न र जोखिममा परेका मानिस समस्यामा पर्न सक्ने कुरा उनले औल्याएका छन् ।

अर्थतन्त्रमा पर्ने असरको आँकलन गर्न कोभिड–१९ को विस्तार रोक्नका लागि लागू भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कदमहरुको निरन्तरतामा भर पर्ने तर बन्दाबंदी यसरी नै महिनौँ लम्बियो भने यसले निम्त्याउने आर्थिक असर निकै ठूलो हुनसक्ने उनि बताउछन् ।

आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण यी क्षेत्रहरु पुन सुचारु भई सामान्य अवस्थामा फर्किन भने केही समय लाग्ने अनुमान उनले गरेका छन् । नेपालका छिमेकी राष्ट्र भारत र चीन तथा विश्वव्यापी रूपमा महामारीको अवस्था कस्तो रहन्छ, नेपाली अर्थतन्त्रमा पर्ने असर पनि त्यसैमा निर्भर हुने उनि बताउछन् ।

एसियाली विकास परिदृश्य (एडिओ) तयारी गर्दाको समयदेखि नै विश्वप्यापी रूपमा समेत विकासको परिदृश्य त्यति अनुकूल देखिएको छैन । वैशाख १७ गते प्रकाशित केन्द्रीय तथ्याङ्क विभागको प्रक्षेपण अनुसार आर्थिक वर्ष २०७६/७७ (सन् २०२०) मा नेपालकोआर्थिक वृद्धि २.३% मा सीमित रहने अनुमान छ । यसैगरी कोभिड–१९ महामारी निरन्तर रहे आर्थिक वर्ष २०७७/७८ (सन् २०२१) मा पनि नेपालको आर्थिक वृद्धि अझ खुम्चिने एडिबीको अनुमान छ । जुन कोभिड–१९ भन्दा पहिलेको ६.४% को पूर्वानुमानभन्दा कम हुनेछ । आर्थिक वृद्धिको पूर्वानुमानको समीक्षा सम्भवतः सन् २०२० को जुनमा गरिनेछ र त्यसले आर्थिक वृद्धिको सम्भाव्य स्थितिलाई बुझ्न सहयोग गर्नेछ ।

आर्थिक दृष्टिकोणले यस्तो चुनौतीपूर्ण अवस्थामा एडिबी नेपाललाई सहायता गर्न पूर्ण रूपमा प्रतिबद्घ रहेको , एडिबीले युनिसेफसँगको सहकार्यमा स्वास्थ्य सामग्री खरिदका निम्ति तीन लाख डलरको अनुदान प्रदान गरिसके र अहिले एडिबी सरकारले घोषणा गरेको राहत र पुनस्र्थापना कार्यक्रममा केन्द्रित भएर थप सहयोगका लागि सरकारसँग छलफलमा संलग्न रहेको उनले बताएका छन् ।