काठमाडौं। सन् २०२६ को जनवरी महिनामा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा कुल ९२ हजार ५७३ विदेशी पर्यटक नेपाल आएका छन्। जुन सन् २०२५ को सोही महिनाको तुलनामा १५.७ प्रतिशतले बढी हो।
कोभिड–१९ महामारीअघि सन् २०१९ को जनवरीसँग तुलना गर्दा पनि पर्यटक आगमन १४ प्रतिशतले वृद्धि भएको देखिएको छ। तथ्यांकअनुसार सन् २०२६ को पहिलो महिनामा नेपाल आउने पर्यटकमध्ये भारत शीर्ष स्थानमा रहेको छ।
जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको २८.८ प्रतिशत हो। त्यसपछि चीनबाट ९ हजार १०१, संयुक्त राज्य अमेरिकाबाट ८ हजार ४०६, बंगलादेशबाट ५ हजार ८१४ र अस्ट्रेलियाबाट ४ हजार ९५७ पर्यटक नेपाल भित्रिएका छन्।

क्षेत्रगत आधारमा हेर्दा दक्षिण एसियाली मुलुक (सार्क) बाट सबैभन्दा धेरै ३९.३ प्रतिशत पर्यटक नेपाल आएका छन्। अन्य एसियाली देशबाट २६.१ प्रतिशत, युरोपबाट १२.३ प्रतिशत, अमेरिकाबाट १०.८ प्रतिशत र ओसियानियाबाट ५.७ प्रतिशत पर्यटक आगमन भएको छ। यस्तै, मध्यपूर्वबाट १ प्रतिशत र अफ्रिकाबाट ०.४ प्रतिशत पर्यटक नेपाल आएका छन् भने अन्य क्षेत्रको हिस्सा ४.५ प्रतिशत रहेको छ।
