ओलीको पब्लिक डिबेट प्रस्ताव अस्वीकार गर्दै बालेनको कडा प्रतिक्रिया

राजनीति

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह र नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सार्वजनिक बहस (पब्लिक डिबेट)का लागि आह्वान गरेपछि बालेन साहले त्यसको जवाफ दिएका छन्।

ओलीले “देश जलाउने र बनाउनेबीच बहस हुनुपर्छ” भन्दै सामाजिक सञ्जालमार्फत प्रस्ताव राखेका थिए। त्यसको प्रतिक्रिया दिँदै बालेनले आफू कथित “हत्यारा र त्यसका मतियार” सँग एउटै मञ्चमा नबस्ने बताएका छन्। त्यस्ता व्यक्तिसँग एउटै मञ्च साझा गर्नु भनेको आफू पनि त्यसमा संलग्न भएको सन्देश जाने उनको भनाइ छ।

ओलीले आफ्नो स्टाटसमार्फत आफूलाई देश बनाउने व्यक्तिको रूपमा प्रस्तुत गरेका थिए। त्यसको काउन्टर दिँदै बालेनले लेखेका छन्, “आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठीकै छ। नेताहरूका घर कता–कता छन्, तपाईंहरूलाई नै थाहा थियो। २३ गते बालबालिकाको हत्या भएको घटनाको आतङ्कवाद लुकाउन २४ गते आगजनी गरिएको हो। आफूलाई आतङ्कवादी भने कहिले स्वीकार्ने? त्यसपछि अरू कुरा गरौँला। ७६ जना बालबालिकाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।”

यससँगै ओलीको बहस प्रस्तावमा बालेनले सहभागी नहुने स्पष्ट संकेत गरेका छन्।