काठमाडौं – अब नेपालमा सबै प्रकारका विदेशी लगानी भित्र्याउन नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति आवश्यक नपर्ने भएको छ। राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ को पाँचौं संशोधनमार्फत विदेशी लगानी नेपाल भित्र्याउने तथा बाहिर लैजाने प्रक्रियालाई थप सहज बनाएको हो।
नयाँ संशोधनअनुसार शेयर स्वामित्व परिवर्तनका क्रममा विदेशी लगानी भित्र्याउन वा बाहिर पठाउन राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने पुरानो व्यवस्था खारेज गरिएको छ। साथै, विदेशी लगानीकर्ताले आर्जन गरेको रकम इजाजतप्राप्त वाणिज्य बैंकमार्फत सिधै विदेशी मुद्रामा सटही गरी फिर्ता लैजान सक्ने व्यवस्था गरिएको छ।
विदेशी लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले लगानी तथा त्यसबाट आर्जित रकम फिर्ता लैजाने प्रक्रिया थप सरल र व्यावहारिक बनाइएको राष्ट्र बैंकले जनाएको छ।

यस व्यवस्थाअनुसार विदेशी लगानीकर्ताले शेयर बिक्रीबाट प्राप्त रकम, लगानीबाट आर्जित मुनाफा वा लाभांश, उद्योग वा कम्पनी खारेजीपछि बाँकी रहेको रकम, प्रविधि हस्तान्तरण सम्झौताबाट प्राप्त रोयल्टी, लिज भाडा, कानुनी प्रक्रियाबाट प्राप्त हर्जना वा क्षतिपूर्ति, विशेष लगानी कोषको इकाई बिक्रीबाट प्राप्त रकमलगायत कानुनअनुसार फिर्ता लैजान मिल्ने सम्पूर्ण रकम विदेश लैजान सक्नेछन्।
