काठमाडौँ । नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि उपलब्ध गराइँदै आएको विदेशी मुद्राको सटही सुविधामा संशोधन गरेको छ।
राष्ट्र बैंकले आज जारी गरेको एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै चाँदी आयातका लागि मासिक सटही सीमा तोकेको हो। संशोधित व्यवस्थाअनुसार उद्योगले प्रतिमहिना २० लाख अमेरिकी डलरसम्म र अन्य व्यवसायीले चार लाख अमेरिकी डलरसम्म बराबरको विदेशी मुद्रा सटही सुविधा पाउनेछन्।
यसअघि उद्योगले एकपटकमा पाँच लाख अमेरिकी डलर र अन्य व्यवसायीले एक लाख अमेरिकी डलर बराबरको चाँदी आयातका लागि विदेशी मुद्रा सटही सुविधा पाउँदै आएका थिए। नयाँ व्यवस्थामार्फत राष्ट्र बैंकले एकपटकको सट्टा मासिक कोटा निर्धारण गरेको हो।

राष्ट्र बैंकका अनुसार यस संशोधनले चाँदी आयात व्यवस्थापनलाई व्यवस्थित बनाउनुका साथै विदेशी मुद्रा प्रवाहलाई सन्तुलित राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
