काठमाडौं । ज्योति विकास बैंकका कर्मचारीहरूमाथि कर्जा असुलीको क्रममा भएको साङ्घातिक आक्रमणप्रति बैंकिङ तथा वित्तीय क्षेत्रका चार प्रमुख संघ–संस्थाले संयुक्त रूपमा घोर भर्त्सना गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ तथा नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त घटनालाई ‘अमानवीय, आपराधिक र निन्दनीय’ कार्यको संज्ञा दिएका हुन् ।
विज्ञप्तिअनुसार डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको सदस्य संस्था ज्योति विकास बैंकको रुपनी शाखासँग सम्बन्धित ऋणी ‘सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.’ का सञ्चालक तथा उनका सहयोगीहरूले बैंकका कर्मचारीहरूमाथि योजनाबद्ध रूपमा आक्रमण गरेका थिए ।
घटना गत मंसिर २४ गतेको हो । कर्जाको किस्ता नियमित गर्ने विषयमा छलफल गर्न भन्दै ज्योति विकास बैंकको बर्दिबास क्षेत्रीय कार्यालयका कर्मचारीहरूलाई बोलाइएपछि उनीहरूलाई नियन्त्रणमा लिई दुव्र्यवहार तथा साङ्घातिक आक्रमण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त विज्ञप्तिमा बैंकिङ क्षेत्रका अगुवाहरूले स्थानीय प्रहरी प्रशासनको भूमिकाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । घटना घटेकै दिन सम्बन्धित निकायमा जानकारी गराउँदा पनि तत्काल कुनै पहल नहुनु र विज्ञप्ति सार्वजनिक हुँदासम्म समेत जाहेरी दर्ता नहुनुलाई संघहरूले ‘अत्यन्त खेदनीय’ र सुरक्षा निकायको ‘गम्भीर कमजोरी’ भनेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई समयमै कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्नेमा, सूचना प्राप्त हुनासाथ अनुसन्धान अघि बढाइनु पर्ने थियो । तर जाहेरीसमेत दर्ता नहुनु दुःखद् विषय हो ।’
बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ताको बचत सुरक्षित राख्ने र कर्जा असुलीका लागि कानुनी प्रक्रिया अपनाउँदा यस्ता अराजक गतिविधि हुनु बैंकिङ सेवा प्रवाहका लागि गम्भीर चुनौती बनेको संघहरूको ठहर छ । ‘कानुनी प्रक्रिया हुँदाहुँदै कर्मचारीहरूको ज्यानै लिने मनसायले गरिएको आक्रमणले समग्र बैंकिङ क्षेत्रको मनोबलमा नकारात्मक असर पारेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
चारवटै संगठनले भविष्यमा यस्ता घटना दोहोरिन नदिन दोषीहरूलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन् । साथै, यस्ता घटनाको सूचना प्राप्त हुनासाथ जाहेरी नआए पनि स्वतः अनुसन्धान अघि बढ्ने व्यवस्था सुनिश्चित गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
अन्त्यमा बैंक तथा वित्तीय संस्थाहरूले अराजक तथा गैरकानुनी गतिविधिलाई निरुत्साहित गर्न सर्वसाधारणलाई सजग, जिम्मेवार र कानुनप्रति सम्मानजनक व्यवहार गर्न अपिल गरेका छन् ।
Final Draft Press release Rupani _December 15 2025_DBAN (002) (1)
