काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले अब ऋणीको धितो कम्तीमा तीन पटकसम्म लिलामी प्रक्रियामा राखेपछि मात्र आफैंले सकार गर्न पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार कर्जा असुलीका क्रममा सुरक्षणमा रहेको धितो बेचबिखन गरी साँवा तथा ब्याज उठाउन सकिनेछ। तर, कम्तीमा तीन पटकसम्म लिलामी गर्दा पनि धितो बिक्री नभएमा मात्रै बैंक तथा वित्तीय संस्थाले उक्त धितो आफैंले सकार गर्नुपर्ने व्यवस्था गरिएको हो। यसअघि भने पहिलो पटक लिलामीमा बिक्री नभए पनि धितो आफैंले सकार गर्न सकिने प्रावधान थियो।
यसैगरी, बैंकले सकार गरेको गैर–बैंकिङ सम्पत्तिमा सकार गरेको मितिदेखि नै शतप्रतिशत नोक्सानी व्यवस्था कायम गर्नुपर्ने तथा सो सम्पत्ति बिक्री हुँदा सिर्जना गरिएको नोक्सानी व्यवस्थाको हिसाब मिलान गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले हटाएको छ।

उता, बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृतको विदेश भ्रमण सम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाइएको छ। यसका लागि सम्बन्धित संस्थाले स्पष्ट कार्यविधि तयार गरी लागू गर्नुपर्नेछ। साथै, अध्यक्ष, सदस्य वा प्रमुख कार्यकारी अधिकृत विदेश भ्रमणमा जाँदा प्रत्येक पटक सञ्चालक समितिबाट निर्णय गर्नुपर्ने निर्देशन राष्ट्र बैंकले दिएको छ।
