गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य बैंकिङ कसूर आरोपमा पक्राउ परेका छन्। प्रभु बैंक लिमिटेडसँग जोडिएको ठगी प्रकरणमा चलिरहेको अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले उनलाई पक्राउ गरेको हो।
ललितपुर, जावलाखेलस्थित प्रहरी वृत्तबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–३, पुल्चोक निवासी ६० वर्षीय शाक्यलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।
यसअघि प्रतिवादी कुसुम लामा लगायतको संलग्नतामा भइरहेको अनुसन्धानका क्रममा संकलित प्रमाणहरूको विज्ञ समूहले अध्ययन–विश्लेषण गर्दा प्रभु बैंकका सीईओ अशोक शेरचनले नेपाल राष्ट्र बैंकको निर्देशन र विद्यमान कानुन विपरीत निर्णय गर्दै बैंकलाई हानी–नोक्सानी पुगेको निष्कर्ष निकालेको थियो।

शेरचनले विभिन्न कम्पनीको नाममा करोडौँ रुपैयाँ कर्जा प्रवाह गरी दुरुपयोग गर्न सहयोग गरेको र त्यस अपराधलाई लुकाउन समेत भूमिका खेलेको ठहरिएको छ। यही श्रृंखलामा सो समूहसँग जोडिएको आशंकामा शाक्यमाथि पनि कारबाही अघि बढाइएको बताइएको छ।
