TIFA सक्रिय बनाउन नेपाल–अमेरिका सहमत

Headlines राजनीति

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच नेपाल–अमेरिका द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन तथा आर्थिक सहकार्यका विषयमा छलफल भएको छ।

मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा र आर्थिक विकासमा पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरे। उनले अमेरिकामा रहेको नेपाली डायस्पोराले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउन भूमिका खेलेको उल्लेख गरे।

मन्त्री यादवले सन् २०१५ मा सुरु भएको ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’ को अवधि सन् २०२५ डिसेम्बरमा सकिएकाले नेपाली वस्तुलाई अमेरिकी बजारमा पुनः सहुलियतपूर्ण पहुँच सुनिश्चित गर्न सहयोग गर्न आग्रह गरिन् ।

उनले नेपाल–अमेरिका व्यापार तथा लगानी ढाँचा सम्झौता (TIFA) अन्तर्गतको संयन्त्रलाई नियमित संवादमार्फत सक्रिय बनाउनुपर्नेमा जोड दिइन् ।

सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि नीतिगत तथा कानुनी सुधार गरिरहेको जानकारी दिँदै मन्त्री यादवले जलविद्युत, नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्रमा अमेरिकी लगानी बढाउन आग्रह गरिन् ।

हाल अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य रहेको उल्लेख गर्दै उनले ऊनी गलैँचा, तयारी पोशाक र पश्मिनालगायत नेपाली वस्तुको निर्यात बढाउन तथा प्रविधि हस्तान्तरण र निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्नुपर्ने बताइन्।

भेटमा अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले नेपालले उठाएका व्यापार सहुलियत, लगानी प्रवर्द्धन र आर्थिक सहकार्यका विषयमा सकारात्मक प्रतिक्रिया दिँदै आवश्यक सहयोग र साझेदारी निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।