जरायोको सुकुटी खान निम्ता गर्ने युवक पक्राउ

विविध

गढवा गाउँपालिका वडा नं. ७ का ३५ वर्षीय शिवराज पुन मगरले बिहीबार दिउँसो ३ बजेतिर आफ्नो फेसबुक वालमार्फत जरायोको सुकुटी खान निम्ता गरेका थिए।

मगरले लेखेका थिए – ‘लकडाउनको टाइमपास, आजको नास्ता जरायोको सुकुटी…मेरो घरमा स्वागत छ।’

पुनले सामाजिक सञ्जालमा प्रतिवन्धित बन्यजन्तु जरायोको सुकुटी खान सार्वजनिक रुपमा आह्वान गरेपछि डिभिजन कार्यालय देउखुरीको टोली शुक्रबार विहान साढे दश बजेतिर पुनको घरमा पुग्यो र उनलाई नियन्त्रणमा लियो। सोधपुछ र अनुसन्धान सुरु भयो। त्यसक्रममा मगरले रमाइलोको लागि आफूले त्यो सबै गरेको बयान दिए।

‘लकडाउनले घरमा सबै दुःखी छन्, मैले राँगाको सुकुटी पकाउँदै थिए,’ मगरले भने ‘घर परिवार लगायत सबैलाई रमाइलो गराउँ भन्ने उद्देश्यले जरायोको सुकुटी खान आउनुस् भन्ने कुरा जिस्केरे लेखेको हुँ।’

उनले गल्ती स्वीकार गर्दै आइन्दा यस्ता कुराहरु रमाइलोको लागि सामाजिक सञ्जालमा नलेख्ने प्रतिवद्धता समेत जाहेर गरेपछि उनलाई रिहा गरिएको छ ।

मासु साँच्चै राँगाको थियो वा जरायोको थियो भन्ने बारेमा हामी थप अनुसन्धान हुनेछ ।

मगरले स्ट्याटस लेखे जस्तै जरायोको मासु भएको पुष्टि भएमा कानुनी कारवाही अगाडि बढ्ने छ ।

वन कार्यालयवाट रिहा भए लगतै पुन मगरले उक्त स्ट्याटस भने हटाई सकेका छन्।