काठमाडौं – आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (कात्तिकसम्म) जीवन बीमा कम्पनीहरूले ६२ अर्ब रुपैयाँभन्दा धेरै बीमा शुल्क उठाएका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा जीवन बीमा कम्पनीहरूले जम्मा ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन्।
अघिल्लो वर्षको यही अवधिमा कम्पनीहरूले ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका थिए।
यस वर्ष कात्तिकसम्म सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्ने कम्पनी नेपाल लाइफ रह्यो। नेपाल लाइफले मात्र १७ अर्ब ९२ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ।
यस्तै, बढी बीमाशुल्क संकलन गर्ने दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले कात्तिकसम्म ७ अर्ब ४७ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यसैगरी, कात्तिकसम्ममा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले ६ अर्ब ५ करोड ६७ लाख, हिमालयन लाइफले ५ अर्ब ६४ करोड ७ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ३ करोड ९३ लाख, सुर्यज्योति लाइफले ३ अर्ब ६४ करोड ५ लाख, एशियन लाइफले २ अर्ब ९९ करोड ५० लाख र सिटिजन लाइफले २ अर्ब ६६ करोड ६४ लाख बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै, कात्तिकसम्म सानिमा रिलायन्स लाइफले २ अर्ब २८ करोड १६ लाख, मेट लाइफले २ अर्ब ९ करोड ४१ लाख, आइएमई लाइफले १ अर्ब ९४ करोड ५४ लाख, रिलायबल नेपाल लाइफले १ अर्ब ८५ करोड ८८ लाख, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ८० करोड ४३ लाख र सन नेपाल लाइफले १ अर्ब ३० करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
