सीईओ–डीसीईओ पक्राउपछि निरज लम्साल प्रभु बैंकका कामु सीईओ

बैंक/वित्त

काठमाडौं – प्रभु बैंक लिमिटेडले निरज लम्साललाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैंकका सीईओ अशोक शेरचन, डेपुटी सीईओ मनिराम पोखरेलसहितका कर्मचारीलाई पक्राउ गरेपछि बैंकले तत्कालिन व्यवस्थापन निरन्तरताका लागि लम्साललाई जिम्मेवारी तोकेको हो।

बैंकका तीन कर्मचारी अनुसन्धान प्रक्रियामा रहेकाले दैनिक कार्य सञ्चालनलाई अवरोध नपरोस् भनेर सञ्चालक समितिको निर्णयअनुसार वरिष्ठ कर्मचारी लम्साललाई मंसिर १४ गतेदेखि लागू हुने गरी कामु सीईओ बनाइएको बैंकले जनाएको छ।

बैंकले सीईओ, डीसीईओसहितका कर्मचारी पक्राउ परे पनि अनुसन्धानका कारणले बैंकको दैनिक सेवा, वित्तीय सुशासन तथा निक्षेपकर्ता, शेयरधनी र ग्राहकको हितमा कुनै नकारात्मक असर नपर्ने दाबी गरेको छ।

निरज लम्साल सन् २०१८ मा प्रभु बैंक लिमिटेडका प्रमुख क्रेडिट अधिकृत (Chief Credit Officer) का रूपमा नियुक्त भएका थिए।

लम्सालको बैंकिङ क्षेत्रमा करिब २४ वर्षको अनुभव छ। वित्तीय सेवा क्षेत्रमा केन्द्रित हुँदै लेखापाल, वित्त तथा जोखिम व्यवस्थापन सम्बन्धी गहन पेशागत दक्षता उनीसँग रहेको छ।

लम्सालले आफ्नो बैंकिङ करियर सन् २००० मा नेपाल बंगलादेश बैंक लिमिटेड (NB Bank) मा म्यानेजमेन्ट ट्रेनीको रूपमा सुरु गरेका थिए। एनबी बैंकमा १७ वर्षभन्दा बढी विविध नेतृत्व भूमिकामा कार्यरत रहँदा उनी सीनियर म्यानेजर पदमा जिम्मेवारी सम्हालिरहेका थिए। सन् २०१८ मा एनबी बैंकबाट राजीनामा दिएपछि उनी प्रभु बैंक लिमिटेडमा आवद्ध भए।

प्रभु बैंकमा रहँदै लम्सालले बैंकको क्रेडिट पोर्टफोलियो व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेका छन्।