काठमाडौं, १३ वैशाख । लामो समयसम्म लकडाउन जान नसक्ने अवस्थामा कोभिड–१९ संक्रमण रोकेर कसरी सुरक्षित रूपमा दैनिक काम गर्ने विषयमा छलफल सुरु भएको छ । त्यसको उपायको खोजी गर्न थालिएको छ । यसको लागि कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठक शुरु भएको छ । वैशाख १५ गते लकडाउन सकिन लागेको अवस्थामा विज्ञहरूले संक्रमण न्यून गर्दै सुरक्षित विकल्पबारे छलफल सुरु गरेका हुन् । लकडाउनको एक महिनापछि राजधानीमा बिहीबारदेखि कोभिड–१९ का बिरामीविहीन बनेपछि अझ एक/दुई साता यहाँ कुनै केस नदेखिँदा भीडभाड नहुने गरी व्यक्तिगत दूरी कायम राखेर राजधानी केही खुकुलो गर्ने संकेत स्वास्थ्य मन्त्रालयका अधिकारीले दिएका छन् । उनीहरूले संक्रमण नियन्त्रणको उपायअनुसार केही ‘नियन्त्रण’ सहित काम गर्ने सुझाव दिएका हुन् ।
उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वमा शुरु भएको बैठकमा लकडाउन एक हप्ता या १५ दिन थप्नेबारे छलफल हुने बुझिएको छ । सम्भवतः वैशाखभर लकडाउन गर्ने गरी निर्णय गरेर मन्त्रिपरिषदमा प्रस्ताव लगिने तयारी भएको छ । विभिन्न क्षेत्र छुट्याएर लकडाउनमा पनि अत्यावश्यक र जरुरी सेवाहरु संचालन गर्न दिने तयारी भएको छ । स्रोतका अनुसार कतिपय अत्यावश्यक सेवा सञ्चालन गर्न दिने गरी लकडाउन खुकुलो बनाइने तयारी भएको छ । सरकारले लकडाउन भने वैशाखभर गर्ने तयारी गरेको छ ।
सरकारले लकडाउन लम्ब्याउने तयारी गरेपछि शैक्षिक संस्थाहरु वैशाखभर नखुल्ने निश्चितप्रायः भएको छ । शैक्षिक संस्था, सार्वजनिक यातायात, होटल, सिनेमा हल, खेल स्थललगायत आउँदो एक महिनासम्म खुल्ने सम्भावना न्युन छ । एसईई र विभिन्न विश्वविद्यालयका परीक्षाहरु कम्तिमा एक महिना पछाडि धकेलिने देखिएको छ ।

