कैलालीको त्रिनगर भन्सार सीमानाकामा भारतबाट नेपाल भित्रिने मालवाहक गाडी र तिनका चालक, सहचालकलाई स्यानिटाइजर छर्किने व्यवस्था आजबाट शुरु गरिएको छ।
नेपाल इँटा उद्योग महासङ्घको पहलमा इँटा व्यवसायी सङ्घ सुदूरपश्चिम प्रदेशले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै भारतबाट आउने अतिआवश्यकीय सामान ढुवानी गर्ने सवारी साधन, चालकलाई स्यानिटाइजर छर्किने व्यवस्था गरिएको नेपाल इँटा उद्योग महासङ्घका केन्द्रीय सदस्य दीप ऐरले जानकारी दिए।
“स्यानिटाइजर छर्कनका लागि झण्डै एक लाख ५० हजार खर्च भएको छ”, उनले भने “अझै आवश्यकता बढेमा यसको व्यवस्थापनका लागि थप सहयोग गर्न हामी तयार छौँ । भारतका विभिन्न स्थानबाट प्रदेशका लागि अतिआवश्यकीय खाद्यान्न, तरकारी, फलफूललगायतका वस्तु भित्रिइरहेका छन् ।

भारतका विभिन्न प्रान्त तथा ठूला शहरलगायतका स्थानमा कोराना भाइरसको सङ्क्रमण अझै बढिरहेकाले त्यहाँबाट नेपाल भित्रिने मालवाहक सवारी, चालक लगायतमा पूर्वसतर्कता अपनाउन जरुरी देखिएकाले स्यानिटाइजर छर्किने व्यवस्था गरिएको इँटा व्यवसायी सङ्घ सुदूरपश्चिम प्रदेशले जनाएको छ ।
स्यानिटाइजर छर्कनका लागि चाहिने आवश्यक औषधि ९लिक्विड० भने धनगढी उपमहानगरपालिकाबाट उपलब्ध भएको बताइएको छ ।
