सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारले बनाएको मार्गदर्शन अनुसार हाल क्वारेन्टाइनमा बसेका मानिसलाई शुक्रबार घर पठाइएको हो।
टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले स्वदेश भित्रैबाट आएका नागरिकलाई वडाध्यक्षको जिम्मामा फारम भरी होम क्वारेन्टाइनमा पठाउने भन्ने प्रदेश सरकारको पत्रानुसार घर पठाइएको जानकारी दिए। “नेपालका अन्य जिल्लाबाट आएकाहरु घर फर्काएका छौँ”, नगरप्रमुख रावलले भने, “कर्णाली मावि सत्तीमा रहेको क्वारेन्टाइनमा आठ भारतीय नागरिक राखिएका छन्। उनीहरुलाई १४ दिन पूरा भएपछि मात्र पठाइनेछ।”
नगरपालिकाले बाहिरबाट आएका मानिस टीकापुर बहुमुखी क्याम्पस, कर्णाली मावि सत्ती, राष्ट्रिय मावि बेलुवा र सेतीमैंया मावि झुङ्गामा गरी चार क्वारेन्टाइनमा रहेका ३३७ जना घर फर्काएको छ।

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले पनि त्यहाँका सरस्वती मावि दुर्गौली, जनता मावि मुनुवा र मोति मावि मोतिनगरमा स्थापना गरिएका तीन क्वारेन्टाइनमा रहेका २१४ नागरिकलाई घर फर्काउन लागिएको जानकारी दिए।
काठमाडौंदेखि आई टीकापुर बहुमुखी क्याम्पसमा चार दिन बसेर फर्किएका प्रकाश चौधरीले अरु १० दिन बसेर स्वास्थ्य जाँच गरेर घर जान पाए राम्रो हुने प्रतिक्रिया दिए। “चौध दिन क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षणपछि मात्रै घर फर्काएको भए हुन्थ्योँ”, चौधरीले भने, “म त स्वास्थ्य परीक्षणपछि घर फर्काएको भए ढुक्क हुन्थेँ।”
टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर रावलले १४ दिनपछि घरबाट बोलाएर क्वारेन्टाइनमा राखिएका सबैको ¥यापिड टेष्ट गरिने जानकारी दिए। “अहिले हामीले घर फर्काए पनि होम क्वारेन्टाइनमा बस्न भनेका छौं”, संयोजक रावलले भने “घर फर्किएर छुट्टै बस्नुपर्नेछ।”
