रत्ननगर, १२ वैशाख । कुनै समय चितवन निकुञ्जको पश्चिम क्षेत्र माडीमा वितण्डा मच्चाउने ‘ध्रुवे’ हात्तीलाई स्याटेलाइट रेडियोकलर जडान गरिएको छ । बिहीबार चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष–जैविक विविधता संरक्षण केन्द्र सौराहाको प्राविधिक टोलीले दाह्रा काटेर रेडियोकलर जडान गरी छाडेको छ । केही समयदेखि हात्ती प्रजनन केन्द्र वरपर रहँदै आएको मौका पारी रेडियोकलर जडान गरी ट्रयाकिङ गर्न शुरु गरिएको हो ।
रेडियो कलरमार्फत कसरास्थित निकुञ्जको कार्यालयबाटै हात्ती कहाँ–कस्तो अवस्थामा छ भन्ने पत्ता लाग्छ । विसं २०६९ मङ्सिर ६ मा हात्तीको अनुगमन गर्न निकुञ्जले दाह्रा काटेर जिपीएससहित रेडियोकलर जडान गरेको थियो । पुस १५ देखि हात्ती सम्पर्कविहीन भयो । रेडियोकलर माघ २४ गते पर्सा निर्मलबस्तीको जङ्गलमा फेला परेको थियो । यो समयमा ध्रुवेलाई मानुपर्ने चर्को आवाज उठेको थियो । त्यसपछि ध्रुवे करिब तीन वर्षअघि मात्रै निकुञ्जमा देखियो ।
वर्षको एक दुईपटक हात्ती प्रजनन केन्द्रवरपर देखापर्ने ध्रुवे आजभोलि बोक्लोरूपमा देखिँदै आएको थियो । यही मौका परी निकुञ्ज र संरक्षण केन्द्रले ध्रुवेलाई रेडियोकलर लगाउन सफल भएको हो । यस पटक भने स्याटेलाइट रेडियोकलर जडान गरिएको हो ।
विसं २०६९ कात्तिकमा माडीमा दुई जनाको ज्यान लिएपछि मङ्सिरबाट यो हात्तीलाई नियन्त्रणमा लिने प्रयास शुरु भएको थियो । ध्रुवेले विसं २०६६ देखि २०६९ भित्रको समयमा १५ जनाको ज्यान लिएको थियो भने ५० बढी घर भत्काएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा चारदेखि पाँच रैथाने जङ्गली हात्ती छन् । तिनीहरू एक्लाएक्लै हिँड्छन् । तिनै हात्तीले मानवीय बस्तीमा प्रवेश गरेर धनजनको क्षति गर्ने गरेका छन् । नेपाल–भारत आवतजावत गर्ने करीब ४० देखि ५० हात्ती निकुञ्जमा छन् । निकुञ्जले पालेका ५७ हात्ती छन् । चितवन राष्ट्रिय निकुञ्जमा ध्रुवे र रोनाल्डोलाई रेडियोकलर जडान गरिएको छ । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट वर्षेनी धनजनको क्षति हुने गरेको छ । वर्षौँदेखि निकुञ्ज र बस्तीबीच व्यवस्थित तारबारको माग उठ्दै आएको छ ।
