Global Trust Intact: Nepal Secures “BB-” Again — नेपालले पुनः जित्यो अन्तर्राष्ट्रिय विश्वास

आर्थिक

काठमाडौं । नेपाल सन् २०२५ का लागि अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ संस्था Fitch Ratings बाट पुनः “BB-” सार्वभौम क्रेडिट रेटिङ कायम राख्न सफल भएको छ। पछिल्लो मूल्यांकनमा पनि नेपालले “BB-” रेटिङ पाएको थियो।

सामाजिक–राजनीतिक चुनौती, वर्षाजन्य विपत्ति र विश्व आर्थिक सुस्तताजस्ता कारणले जोखिम बढेका बेला पनि नेपालको रेटिङ स्थिर रहनु देशको दीर्घकालीन दायित्व पूरा गर्ने क्षमतामा अन्तर्राष्ट्रिय स्तरमा निरन्तर भरोसा कायम भएको संकेत मानिएको छ।

विशेषगरी आगामी चुनावसँग जोडिएको सम्भावित खर्च वृद्धि र अनिश्चितताको जोखिमबीच सरकारले वित्तीय अनुशासन, राजस्व व्यवस्थापन सुधार र खर्चमा प्राथमिकता तय गर्ने नीतिलाई निरन्तरता दिएको Fitch को मूल्यांकनमा उल्लेख छ। समयमै चुनाव सम्पन्न गर्ने प्रतिबद्धता र ठूला परियोजनामा अवरोध नआउने वातावरणलाई पनि सकारात्मक संकेतका रुपमा हेरिएको छ।

“BB-” रेटिङ कायम रहनुले नेपालले भविष्यमा अन्तर्राष्ट्रिय वित्तीय संस्थासँगको सहकार्य विस्तार, वैदेशिक लगानी आकर्षण तथा सम्भावित सार्वभौम ऋण (Sovereign Bonds) जारी गर्दा आवश्यक पर्ने क्रेडिट प्रोफाइल मजबुत राख्न मद्दत गर्ने विश्लेषकहरूको भनाइ छ। ऊर्जा, पूर्वाधार, पर्यटन, कृषि र डिजिटल अर्थतन्त्रमा दीर्घकालीन लगानी वृद्धि गर्न रेटिङ स्थिरता महत्वपूर्ण सूचक मानिन्छ।