उत्तर कोरियामा सम्भावित संकट

विविध

उत्तर कोरियाली नेता किम जोङ उन गम्भीर बिरामी छन् भन्ने हल्लासँगै उनको निधनपछि उत्तर अस्थिर बन्ने र शरणार्थी समस्या उत्पन्न हुने त्रास पनि फैलिएको छ । खासगरी अमेरिकामा उत्तर कोरियाली शरणार्थी समस्या उत्पन्न हुने आंकलन गरिएको छ । ३६ वर्षे शासक किमको अत्याधि तौल र मोटोपनका कारण स्वास्थ्य समस्या भएको उत्तर कोरियाली विज्ञले भन्दैआएका छन् । साथै उनको निधनले उत्तरमा संकट र अस्थिरता उत्पन्न गर्नसक्ने टिप्पणी गर्न थालेका छन् । त्यसो त, शासक किमले उत्तराधिकारी भने घोषणा गरेका छैनन् । तैपनि वरियताक्रम अनुसार उनको सत्तारुढ दलका वरिष्ठ नेता किम यो जोङको हैसियत किम लगत्तै छ । यो किमकी बहिनी पनि हुन् ।

यसैले पनि किमको निधनपछि उत्तर कोरियाको शासन पद्दति सामूहिक नेतृत्वको शैलीमा प्रवेश गर्ने केही विज्ञको तर्क छ । जसले किमको पारिवारिक विरासत तोड्नेछ । ‘उत्तराधिकारी नतोकिनाले पनि उत्तरमा अराजकता, मानव दुख, अस्थिरता निम्तिनेछ, यो सबैका लागि दुखद् खबर हुनेछ,’ दक्षिण कोरियाली वरिष्ठ सैनिक अधिकारी चुन इन बुमले मिलिटरी टाइम्सलाई भनेका छन् ।

कोरोना भाइरसको महामारीको उथलपुथलसँगै उत्तर कोरियामा मानवीय संकट निम्तनसक्ने विज्ञहरुको आंकलन छ । जसले गर्दा जापान, दक्षिण कोरिया, चीन लगायतले उत्तर कोरियाली शरणार्थी समस्या सामना गर्नुपर्नेछ । उत्तरबारे केही विज्ञले त शरणार्थी समस्यासँगै उत्तरमा गृहयुद्धको सम्भावना पनि देखेका छन् ।