काठमाडौं । सरकारले छिमेकी मुलुकहरुमा कोरोना भाइरसको जोखिमको अवस्था हेरेर लकडाउन खोल्ने विषयमा निर्णय हुने बताएको छ । विश्व कोरोना महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोमिख नेपालमा पनि रहेकाले लक डाउन खोल्ने निर्णय एकपक्षिय रुपमा गर्न नसकिने सरकारले बताएको हो ।
छिमेकी मुलुकहरुमा कोरोना नियन्त्रण र जोखिमको अवस्था हेरेर लक डाउन खोल्ने-नखोल्ने विषयमा निर्णय हुने सरकारका प्रवक्ता समेत रहनुभएका अर्थ र सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए । उनले भने, ‘‘छिमैकी मुलुकहरुमा यसको नियन्त्रणको अवस्था कस्तो छ । जोखिमको अवस्था नहेरी एकपक्षिय ढंगले निर्णय गर्ने अवस्था रहँदैन ।’’ लकडाउनको समयमा पनि खुला सीमानाका कारण लुकिछिपी नेपाल प्रवेश गर्ने गरेको पाइएको उनले बताए । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना भएको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले लुकिछिपी नेपाल आउनेहरुका कारण पनि नेपालमा कोरोना संक्रमणको जोखिम बढेको बताए ।
प्रवक्ता खतिवडाले छिमेकी मुलुकमा कोरोना रोकथामको प्रयास र नेपालमा स्वास्थ्य उपचारको पूर्व तयारी, स्वास्थ्य परीक्षणका विधिहरु, उपकरण तथा स्वास्थ्यकर्मी अवस्थालाई ध्यानमा राखेर लक डाउन खुल्ने बताए । नागरिकहरुमा कोरोनाप्रति चेतनाको विकास भएको कतिको भएको भन्ने कुराले पनि प्रभाव पार्ने उल्लेख गर्दै उनले जोखिममुक्त छौँ भन्ने भएपछि मात्रै खोल्ने निर्णय हुने बताए । प्रवक्ता खतिवडाले असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरुलाई काममा आवद्ध गर्न आधारभूत उद्योग, विकास निर्माणका काम र केही सेवा क्षेत्रहरु खुला गर्ने तयारी सरकारले गरेको पनि उनले बताए ।

