काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियमविपरीत काम गरेको ठहर भएपछि नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंक—कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाही गरेको छ।
राष्ट्र बैंकका अनुसार, कुमारी बैंकले कालोसूचीमा रहेका व्यक्ति र संस्थासँग बैंकिङ कारोबार गरेको पाइएकाले कारबाहीमा परेको हो। राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन अनुसार, कालोसूचीमा परेका व्यक्ति, फर्म, कम्पनी वा संस्थाले सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्न बाहेक अन्य कुनै पनि प्रकारको बैंकिङ कारोबार गर्न नपाउने व्यवस्था छ। तर, सो निर्देशनको उल्लंघन गरेको ठहरपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० (१)(क) बमोजिम कुमारी बैंकलाई सचेत गराइएको हो।
त्यस्तै, प्राइम कमर्सियल बैंकले पनि राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेको पाइएपछि कारबाहीमा परेको छ। निरीक्षणका क्रममा बैंकले केही कर्जाहरूलाई भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, केही कर्जामा नोक्सानी व्यवस्था (loan loss provision) कायम नगरेको, र जोखिम भार गणना गर्दा Capital Adequacy Framework, २०१५ का मापदण्ड पूरा नगरेको पाइएको थियो।

यसकारण, नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० (२)(क) बमोजिम प्राइम कमर्सियल बैंकका मुख्य कार्यकारी अधिकृतलाई सचेत गराएको जनाएको छ।
