नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन

समाचार

नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु भएको छ।

कात्तिक दोस्रो सातादेखि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा उपचाररत रहेका ६३ वर्षीय आलमको गयराति २ बजेर ५८ मिनेटमा निधन भएको अस्पताल स्रोतले जनाएको छ।

मुटुमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखी उपचार भइरहेकै क्रममा उनको निधन भएको हो। गत जेठमा नक्खु कारागारबाट रिहा भएको केही समयमै उनलाई ब्रेन स्ट्रोकसमेत भएको थियो।

२०६४ सालको निर्वाचन तयारीका क्रममा बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएको आरोपमा आलममाथि मुद्दा दायर भएको थियो। सो प्रकरणमा जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।