काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बर ४ देखि २१, २०२६ सम्म आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ प्रतियोगिता काठमाडौं, नेपालमा आयोजना गर्ने जनाएको छ।
उक्त प्रतियोगितामा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा आईसीसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ए र बी का शीर्ष स्थान हासिल गर्ने दुई–दुई टोली गरी कुल आठ टोलीको सहभागिता रहनेछ।
यस प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीहरू सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायरका लागि छनोट हुनेछन्।
यसैबीच नेपाल र भारत ‘ए’ बीचको शृङ्खला भने अनिश्चितकालका लागि सरेको छ। आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ प्रतियोगिता नेपालमा आयोजना हुने भएकाले डिसेम्बर ९, ११ र १३ मा नेपाल र भारत ‘ए’ बीच निर्धारित क्रिकेट शृङ्खलाको नयाँ तालिका भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र नेपाल क्रिकेट संघ (क्यान) बीचको आपसी समन्वय तथा सहमतिमा तय गरी सार्वजनिक गरिने क्यानले जनाएको छ।



