आरडिटी पोजेटिभ देखिएपछि थुनामा राख्नुपर्ने व्यक्ति आइसोलेसनमा भर्ना

विविध

सप्तरी , १० वैशाख । थुनामा राख्नुअघि स्वास्थ्य परीक्षण गर्न ल्याइएका ४८ वर्षीय व्यक्तिको आरडिटी परीक्षण गर्दा मङ्गलबार राति कोरोनाको एन्टिबडी देखिएको छ।

सप्तरीको डाकनेश्वरी नगरपालिका–४ भुतहीका सोगवीर रामको कान काटेको आरोपमा पक्राउ परेका आरोपितको स्वास्थ्य परीक्षण र आरडिटी परीक्षण गर्दा पोजेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए।

कोरोना सङ्क्रमणको लक्षण देखिएपछि उनलाई थुनामा नराखी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा राखिएको छ। आरोपित घाइते सोगवीरका भिनाजु हुन्।

सप्तरीको चनही मल्हनिया घर भई ससुरालीमा घरज्वाइँ बस्दै आएका आरोपित र उनका साला सोगवीरबीच जमिनको विषयमा विवाद रहेको छ। कदमको रुख काट्ने विषयमा सोमबार विवाद हुँदा धारिलो हतियारले सालाको कान छिनिएको हो।

आरोपितले घाँटी ताकेर प्रहार गरेको खुकरी छल्दा कान काटिएको घाइतेले बताए। छिनिएको कान लिएर उपचारका लागि घाइते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगेको घाइतेका दाजु रघुवीर रामले बताए।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा दासले आरडिटी पोजेटिभ देखिएका उनको स्वाब परीक्षणका लागि आज धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइने बताए।