काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्की र Asia Pacific Group on Money Laundering का Deputy Executive Secretary David Shannon तथा Policy Officer Kiah Sassal बीच मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ ।
भेटका क्रममा नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी सघन निगरानी सूची (ग्रे लिस्ट) बाट बाहिर ल्याउन नेपालले अघि सारेको कार्ययोजनाको कार्यान्वयन, त्यसमा प्रमुख कानुन कार्यान्वयन निकायका रूपमा नेपाल प्रहरीको भूमिका तथा सम्पत्ति शुद्धीकरण निवारण प्रणालीलाई प्रभावकारी बनाउन विभिन्न सरोकारवाला निकायबीचको समन्वयका विषयमा विस्तृत छलफल भएको नेपाल प्रहरीले जनाएको छ ।
छलफलमा नेपाल प्रहरीले सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराध नियन्त्रणका क्षेत्रमा गरिरहेको अनुसन्धान, सूचना आदान–प्रदान, अन्तरनिकाय समन्वय, प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि, प्राविधिक सहयोग तथा आगामी कार्यदिशाबारे जानकारी गराइएको थियो । साथै वित्तीय अपराध नियन्त्रणमा आपसी सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा समेत विचार आदान–प्रदान भएको थियो ।

कार्यक्रममा वित्तीय जानकारी इकाईका प्रमुख तथा पदाधिकारीहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव, नेपाल राष्ट्र बैंक का निर्देशक तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
