केन्द्रीय बैंकले फेरि ४० अर्ब तरलता प्रशोचन गर्दै

बैंक/वित्त

काठमाडौं । केन्द्रीय बैंकले आज फेरि थप ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले असोज महिना लागेपछि मात्रै दुई पटकमा गरेर झण्डै एक खर्ब तरलता प्रशोचन गरिसकेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले लगालग निक्षेप तानिरहेको छ । लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर निरन्तर घटे पनि कर्जा प्रवाह सुस्त छ । यसैकारण तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पटकपटक प्रणालीबाट पैसा तान्दै आएको छ ।

चालु आर्थिक वर्षको हालसम्म राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि वित्तीय प्रणालीबाट ५ खर्ब ७३ अर्ब २५ करोड तरलता प्रशोचन गरिसकेको छ । असोज महिना मात्रै २ पटकमा गरेर ९८ अर्ब ९० करोड तरलता खिचेको छ ।

केन्द्रिय बैंकले गत असोज २ गते ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्न चोहेकोमा बैंकहरुले ७८ अर्ब ४५ करोड बुझाएका थिए । यस्तै असोज ५ गते ७० अर्ब खिच्न चाहेकोमा २० अर्ब ४५ करोड निक्षेप संकलन उपकरणमा राखेकाथिए। यो दुवै दिन संकलन गरेको रकम असोज १२ गते परिपक्क हुँदैछ । अहिले निक्षेप संकलनको ब्याजदर २.७४ प्रतिशत रहेको छ ।

निक्षेप संकलन उपकरणको माध्यमबाट केन्द्रीय बैंकले आज ४ दिनको लागि थप ४० अर्ब निक्षेप संकलन गर्न लागेको हो। अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो ३ बजे बोलकबोल हुने निक्षेप संकलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी असोज १२ गते हुनेछ ।