कारागारबाट म निस्किन चाहेको होईन, सुरक्षा दिन नसक्ने भनेपछि निस्किएको हुँ: रवि लामिछाने

राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू सरकार बनाउने वा सरकारमा सहभागी हुने कुनै पनि दौडमा नरहेको स्पष्ट गरेका छन्। अन्तरिम सरकार गठनका विषयमा नेपाली सेनाले सुरु गरेको छलफलको सन्दर्भमा उनले आज जारी गरेको भिडियो सन्देशमार्फत यस्तो प्रस्टता दिएका हुन्।

लामिछानेले आफू वा रास्वपालाई कुनै राजनीतिक लाभ नचाहिएको उल्लेख गर्दै, आफ्नो नामलाई सरकार गठनसँग जोडेर विवाद सिर्जना नगर्न आग्रह गरे। उनले भने, “म सरकार बनाउने वा सरकारमा जाने कुनै प्रतिस्पर्धामा छैन। मेरो नाममा विवाद गर्न जरुरी छैन। देश, लोकतन्त्र र नागरिक सर्वोच्चता कायम रहनुपर्छ। यो आन्दोलन जेन जेनरेशनको हो, नेतृत्व पनि अब उसैले तय गर्नुपर्छ।”

यस क्रममा उनले कारागारबाट आफू स्वेच्छाले ननिस्केको स्पष्ट पार्दै, कारागार प्रशासनले सुरक्षा दिन नसक्ने बताएपछि प्रशासनकै पत्र अनुसार बाहिर आएको बताएका छन्। “कारागारबाट म निस्किन चाहेको होइन, सुरक्षा दिन नसक्ने भनेपछि मात्र निस्किएको हुँ,” उनले भने।

उनले थप बताए अनुसार, आफूलाई कस्टडीमा राख्न आईजिपीहरुलाई समेत सम्पर्क गरेको तर उनीहरूले “आफैं सुरक्षित बस्न” सुझाव दिएका कारण पछि न्यायिक निकायसँग सम्पर्क गरेको स्पष्ट पारे।