जेन–जीको आन्दोलनलाई समर्थन गर्दै बालेनको आग्रह: धैर्य राख्नुहोस्, हतार नगर्नुहोस्

राजनीति

काठमाडौं: देशमा हालै चलेको जेन–जी पुस्ताको आन्दोलन र त्यसले सिर्जना गरेको राजनीतिक परिस्थितिप्रति समर्थन जनाउँदै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले युवाहरूलाई धैर्य राख्न र हतारमा कुनै निर्णय नलिन आग्रह गरेका छन्। उनको यो आग्रह देश अब अन्तरिम सरकार गठनको दिशामा अघि बढेको बेला आएको हो।

देश एक अभूतपूर्व ऐतिहासिक मोडमा रहेको बताउँदै बालेनले जेन–जीले सुनौलो भविष्यका लागि चालेको कदमको प्रशंसा गरे। “यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला,” उनले लेखेका छन् । उनले अन्तरिम सरकारको मुख्य काम नयाँ जनादेशका लागि चुनाव गराउनु रहेको स्पष्ट पारे।

अन्तरिम/चुनावी सरकारको नेतृत्वका लागि जेन–जीले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गरेकोमा उनले पूर्ण समर्थन व्यक्त गरेका छन् । “तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु,” उनले लेखेका छन् । यसले युवाहरू कति परिपक्व छन् भन्ने देखाएको उनको भनाइ छ।

उनले अहिले नै नेतृत्वमा आउन हतार गरिरहेका केही व्यक्तिहरूलाई पनि सन्देश दिएका छन्। “तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन,” उनले भने। यसका लागि चुनाव हुने र हतार गर्न आवश्यक नरहेको उनको भनाइ छ।

अन्त्यमा, उनले सम्माननीय राष्ट्रपतिलाई जेन–जीले ल्याएको ऐतिहासिक क्रान्तिको संरक्षण गर्नका लागि तत्काल अन्तरिम सरकारको गठन र संसदको विघटन गर्न आह्वान गरेका छन्।