काठमाडौं । नेपालको परराष्ट्र मन्त्रालयले लिपुलेक हुँदै भारत–चीनबीच सीमा व्यापार पुनः सुरु गर्ने सहमतिको विषयमा आफ्नो धारणा सार्वजनिक गरेपछि भारतीय विदेश मन्त्रालयले जवाफ दिएको छ।
नेपालको परराष्ट्र मन्त्रालयले जारी विज्ञप्तिमा नेपालको संविधानअनुसार आधिकारिक नक्सामा समावेश गरिएका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै अभिन्न भूभाग रहेको भन्दै नेपाल सरकारको स्पष्ट धारणा दोहोर्याएको थियो।
यसै सन्दर्भमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रतिक्रिया दिएका छन्। उनले नेपालले सिमासम्बन्धी उठाएको विषयलाई भारतले “नोटमा लिएको” बताएका छन्।

जैसवालका अनुसार भारत र चीनबीच लिपुलेक हुँदै सन् १९५४ देखि नै सीमा व्यापार सुरु भएको थियो, जुन दशकौँसम्म सञ्चालनमा रह्यो। तर कोभिड–१९ महामारी लगायतका कारणले अवरुद्ध भएको सो व्यापार नाका हालै पुनः सञ्चालन गर्न दुवै देश सहमत भएको उनको भनाइ छ।
