भारतीय विदेशसचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका क्रममा आज काठमाडौँ आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।
मिश्रीले भेटका क्रममा प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएका छन् भन्ने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ ।
भ्रमण अवधिमा नेपाल–भारत साझेदारीका विभिन्न पक्ष, कनेक्टिभिटी, विकास सहयोग तथा पारस्परिक हितका विषयमा सचिवस्तरीय छलफल हुने मन्त्रालयले जनाएको छ । साथै, भारतीय विदेश सचिवले नेपालमा रहँदा उच्च अधिकारीहरुसँग समेत भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ ।

