Commercial Banks of Nepal Seal Rs.70B Budhi Gandaki Project Financial Closure – निजी क्षेत्रकै ठूलो ऊर्जा लगानी

बैंक/वित्त

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नेतृत्वमा  ३४१ मेगावाटको बुढी गण्डकी पिकिङ जलविद्युत् परियोजनाको वित्तीय क्लोजर सम्पन्न भएको छ। साहस ऊर्जा अन्तर्गतको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिद्वारा विकसित हुने यो परियोजनाको कुल लागत ७० अर्ब रुपैयाँ रहनेछ। आज राजधानीमा आयोजित कार्यक्रममा वित्तीय क्लोजर सम्पन्न पश्चात नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सामाजिक संजालको मध्यम बाट यसको जानकारी दिएका हुन् |

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नेतृत्वमा नबिल बैंक, लक्ष्मी सन्राइज बैंक, ग्लोबल आइएमई बैंक लगायतका संस्थाहरूले आयोजनामा कन्सोर्टियम निर्माण गरेका छन्। अन्य सहभागी संस्थाहरूमा माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, प्रभु बैंक, कृषि विकास बैंक र हाइड्रोइलेक्ट्रिक इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) रहेका छन्।

जसअन्तर्गत ५२.५ अर्ब रुपैयाँ वाणिज्य बैंक र वित्तीय संस्थाबाट ऋणका रूपमा जुटाइनेछ भने बाँकी १७.५ अर्ब रुपैयाँ इक्विटीका रूपमा लगानी गरिनेछ। यो नेपालको ऊर्जा इतिहासमा निजी क्षेत्रबाट सुरु गरिएको सबैभन्दा ठूलो वित्तीय क्लोजर भएको ज्ञवालीले बताएका छन्।

यस परियोजनामा नबिल बैंकले  ८ अर्ब रुपैयाँ लगानी गर्नेछ। बैंकले हालसम्म कुल ३,००० मेगावाट क्षमताका २१ जिल्लाका ३७ नदीहरूमा सञ्चालित ५८ वटा जलविद्युत् परियोजनामा  ७९ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता जनाइसकेको छ।