कर्णाली विकास बैंक घोटाला: १०९ जनाविरुद्ध सवा तीन अर्ब रुपैयाँ विगो माग गर्दै मुद्दा दायर

बैंक/वित्त

नेपालगञ्ज — कर्णाली विकास बैंक घोटाला प्रकरणमा सवा तीन अर्ब रुपैयाँ विगो माग गर्दै १०९ जनाविरुद्ध उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा मुद्दा दायर गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय बाँकेले बुधबार ३ अर्ब २० करोड ११ लाख रुपैयाँको विगो दाबी गर्दै मुद्दा दायर गरेको हो। प्रतिवादीको सूचीमा बैंकका पूर्वअध्यक्षहरू राजेन्द्रवीर राय र पशुपति दयाल मिश्र, साथै नेपाल राष्ट्र बैंकका तत्कालीन कर्मचारी भुवन बस्नेतसहित १०९ जना रहेका छन्।

सहायक जिल्ला न्यायाधिवक्ता गोविन्दबहादुर शाहीका अनुसार, हालसम्म राय, मिश्र, बस्नेतसहित ४ जना पक्राउ परिसकेका छन् भने बाँकी १०५ जना फरार छन्। राय जेठ १८ गते, मिश्र एक महिनापछि र बस्नेत साउन २ गते पक्राउ परेका हुन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानले बैंक सञ्चालक, कर्मचारी र बाह्य व्यक्तिहरूको मिलेमतोमा घोटाला गरिएको निष्कर्ष निकालेको छ।