पोखरा फाइनान्सलाई ३२ लाख बढी जरिवाना सहित सिटिजन्स बैंक , गुह्येश्वरी मर्चेन्ट तथा एनआईसी एशिया बैंकमाथि राष्ट्र बैंकको कारबाही

बैंक/वित्त

काठमाडौं नेपाल राष्ट्र बैंकले नियामकीय उल्लङ्घनका घटनाहरूमा संलग्न पाइएका दुई वाणिज्य बैंक र दुई वित्तीय संस्थामाथि कारबाही गरेको छ। बैंक तथा वित्तीय संस्था नियमन विभागमार्फतको समीक्षापछि नियमविपरीत गतिविधि भएको पुष्टि भएपछि राष्ट्र बैंकले आर्थिक जरिवाना र सचेतना कारबाही अघि सारेको हो।

सिटिजन्स बैंक इन्टरनेसनलमाथि बहुआयामिक उल्लङ्घनको आरोप

राष्ट्र बैंकका अनुसार सिटिजन्स बैंक इन्टरनेसनलले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को सेवा सुविधा करार सम्झौता संशोधनमार्फत बढाएको विषयमा सचेत गराइएको छ। साथै, बैंकले ‘सिटिजन्स फास्ट ट्र्याक लोन’ अन्तर्गत कर्जा प्रयोगसम्बन्धी निर्देशनको पालना नगरेको, ब्याजदर अन्तर गणनामा त्रुटि भएको, पुराना कर्जा नयाँ कर्जाबाट चुक्ता गर्ने, तोकिएको समयमा बैंक ग्यारेन्टी भुक्तानी नगर्ने, कर्जा नोक्सानी व्यवस्थापनमा कमजोरी, तथा चालु पूँजीसम्बन्धी मार्गदर्शनको अवज्ञा गरेको पाइएपछि सञ्चालक समितिलाई समेत चेतावनी दिइएको हो।

पोखरा फाइनान्सलाई लाखौं जरिवाना

वित्तीय संस्थातर्फ, पोखरा फाइनान्सले न्यूनतम अनिवार्य नगद मौज्दात (CRR) कायम नगरेको भन्दै ३२ लाख ७७ हजार ६७६ रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ। यो जरिवाना २०७८ माघ २७ देखि २०७८ चैत २३ सम्मको अवधि कभर गर्नेगरी तोकिएको हो।

गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स पनि कारबाहीको घेरामा

राष्ट्र बैंकले गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका सीईओ र सञ्चालक समितिलाई पनि सचेत गराएको छ। कर्जा वर्गीकरण र नोक्सानी व्यवस्थापनको रिपोर्टिङमा कैफियत देखिएको, साथै कतिपय कर्जाहरूको किस्ता तथा ब्याज असुल नगरी त्यसैलाई नियमित गर्न नयाँ कर्जा प्रवाह गरिएको पाइएपछि उक्त कारबाही गरिएको हो।

सञ्चालक नियुक्ति प्रक्रियामा समेत लापरवाही

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विपरीत, वार्षिक साधारणसभा अगाडि रिक्त सञ्चालक पदमा नियुक्ति नगरेको, सभामा निर्वाचन प्रक्रिया नगरेको, र साधारणसभा पछि मात्रै सञ्चालक समितिबाट सञ्चालक नियुक्त गरेको पाइएपछि सम्बन्धित संस्थाका सञ्चालक समितिका अध्यक्ष र सदस्यलाई समेत सचेत गराइएको छ।

यस्तै राष्ट्र बैंक बैंक सुपरीवेक्षण विभागले ऋणीसँगको सम्झौता विपरित ब्याजदर बढाएपछि एनआईसी एशिया बैंकलाई सचेत गराएको छ।