काठमाडौं – नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । आज आइतबार (असार २९ गते) उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । केन्द्रिय बैंकले ४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति साउन १ गते निर्धारण भएको छ ।
यसको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

राष्ट्र बैंकले यसअगाडि असार १ गते ४० अर्ब रुपैयाँ, ४ गते ९० अर्ब रुपैयाँ, ८ गते ६० अर्ब रुपैयाँ, ११ गते ५० अर्ब रुपैयाँ, १५ गते ३० अर्ब रुपैयाँ, १८ गते ६० अर्ब रुपैयाँ, असार २२ गते ४५ अर्ब, २५ गते ४० अर्ब रुपैयाँ तरलता तानेको थियो।
