काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीतिको तयारी अन्तिम चरणमा पुर्याएको छ। केन्द्रीय बैंकले शुक्रबार बिहान सञ्चालक समितिको बैठकबाट नीति पारित गरेपछि दिउँसोसम्म सार्वजनिक गर्ने तयारी गरेको छ।
गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले तयार पारेको मौद्रिक नीति उदार रहने संकेत एक उच्च स्रोतले इंस्टाखबरलाई दिएको छ। बिहीबार केन्द्रीय बैंकको व्यवस्थापन समितिमा नीति प्रस्तावमाथि गहन छलफल भएको थियो। सोही दिन साँझ बसेको सञ्चालक समितिको बैठकमा नीति अवधारणासम्बन्धी विषयहरू—जस्तै भूमिका र हालको आर्थिक अवस्थामाथि प्रारम्भिक छलफल भएको स्रोतले जनाएको छ।
नीतिगत बुँदाहरूमा शुक्रबार अन्तिम निर्णय

श्रोतका अनुसार, ‘बिहीबार व्यवस्थापन समितिमा नीतिका मूल बुँदाहरू छलफल भयो, तर ढिलो भएकोले नीतिगत व्यवस्थाहरू शुक्रबार बिहानको बैठकमा टुंग्याउने सहमति भयो।’ शुक्रबार बिहानैदेखि जारी छलफलले मौद्रिक नीतिलाई अन्तिम रुप दिनेछ।
यस वर्षको बजेटमा घोषणा गरिएका कर्जा पुनर्तालिकीकरण, खराब कर्जा व्यवस्थापनका लागि एसेट म्यानेजमेन्ट कम्पनी स्थापना, तथा डिजिटल बैंक सञ्चालन सम्बन्धी विषयहरू मौद्रिक नीतिमा समेटिने बताइएको छ।
उद्योगी–व्यवसायीलाई राहत उपायहरू पनि समावेश
स्रोतका अनुसार, कुल माग घटेर व्यवसायहरू संकुचित भई समस्या देखिएका कारण ती उद्योगी–व्यवसायीलाई थप कार्यशील पुँजी प्रवाह र ब्याज–जरिवानामा सहुलियत दिने प्रावधान मौद्रिक नीतिमा राखिनेछ।
गभर्नरको अर्थमन्त्री भेट र बोर्ड बैठक तयारी
बिहीबार अपराह्न गभर्नर पौडेलले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी नीतिका विषयमा आवश्यक ब्रिफिङ गरेका थिए। त्यसपछि उनी राष्ट्र बैंकको सञ्चालक समितिको बैठकमा सहभागी भएका थिए।
बिहीबारसम्म आर्थिक वर्षको ११ महिनाको आर्थिक तथ्यांक सार्वजनिक भइसकेको तथा प्रमुख छलफलहरू सम्पन्न भएकाले शुक्रबार नीति सार्वजनिक गर्ने अन्तिम तयारी गरिएको स्रोतको भनाइ छ।
