काठमाडौं । नेपाली कम्पनी ‘घाम पावर’ले सन् २०२५ को Keeling Curve Prize प्राप्त गरेको छ । जलवायु परिवर्तनविरुद्ध नवीन र प्रभावकारी समाधानलाई सम्मानस्वरूप प्रदान गरिने यो अन्तर्राष्ट्रिय पुरस्कार ऊर्जा श्रेणीमा घाम पावरले जितेको हो ।

पुरस्कारको घोषणा केन्याको नेरोबीमा आयोजित TED Countdown Summit मा गरिएको थियो, जहाँ विश्वभरका जलवायु नीति निर्माता, नवप्रवर्तनकर्ता तथा नेताहरूको सहभागिता थियो ।

घाम पावरलाई ग्रामीण समुदाय र उद्योगहरूलाई वितरित तथा स्वच्छ सौर्य ऊर्जा मार्फत सशक्त बनाउँदै नेपालको जलवायु सहनशीलता निर्माणमा पुर्याएको योगदानका लागि सम्मान गरिएको हो ।
५० हजार अमेरिकी डलर राशिको यो पुरस्कारले घाम पावरलाई नेपालका सेवा वञ्चित क्षेत्रमा भरपर्दो, सुलभ र स्वच्छ बिजुली पुर्याउने योजनालाई अझ विस्तार गर्न सघाउनेछ ।
२५ सयभन्दा बढी विश्वव्यापी आवेदनहरूमध्ये घाम पावरले सौर्य प्रविधिलाई वित्तीय उपकरणहरूसँग संयोजन गरी आवश्यक व्यक्तिहरूलाई ऊर्जा पहुँच पुर्याउने नवीन मोडल प्रस्तुत गरेको आधारमा उत्कृष्ट पहिचान बनाएको हो । कम्पनीले हालसम्म ४ हजारभन्दा बढी सफल परियोजनाहरू सञ्चालन गरिसकेको छ ।

घाम पावरको यो सफलता स्वच्छ ऊर्जा यात्रामा नेपालको उल्लेखनीय उपलब्धि हो । यसले विश्वस्तरमा नेपालको जलवायु समाधानमा नेतृत्वदायी भूमिकालाई उजागर गरेको छ । जलवायु संकट बढ्दो अवस्थामा रहेका बेला, घाम पावरले समुदाय–केन्द्रित र नवप्रवर्तनमा आधारित समाधानमार्फत नेपालको कार्बन न्यूनिकरण र दीगो भविष्यतर्फको यात्रामा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ ।

