“Counting Sweat, Respecting Effort: श्रमिक पारिश्रमिकमा नयाँ अध्याय”

आर्थिक समाचार

काठमाडौं । औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको न्यूनतम पारिश्रमिक पुनरवलोकनका लागि गठित समितिले वैज्ञानिक आधारमा पारिश्रमिक निर्धारण गर्ने तयारी थालेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइरालाको संयोजकत्वमा बनेको समितिले यसपटक श्रमिक र रोजगारदाता दुवै पक्षलाई सन्तुलनमा राख्ने गरी नयाँ प्रस्ताव तयार गर्ने जनाएको छ।

समितिका अनुसार विगतमा केवल बजार मूल्यको आधारमा पारिश्रमिक निर्धारण गरिँदै आएकोमा यसपटक श्रमिकको माग, उत्पादन र उत्पादकत्वसमेतलाई विश्लेषणमा समेटेर पुनरवलोकन गरिनेछ।

हाल औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १० हजार ८२० रुपैयाँ र महँगी भत्ता ६ हजार ४८० रुपैयाँ गरी कुल १७ हजार ३०० रुपैयाँ छ। चिया बगानमा कार्यरत श्रमिकको पारिश्रमिक भने ८ हजार ९३४ रुपैयाँ र महँगी भत्ता ४ हजार ९५९ रुपैयाँसहित कुल १३ हजार ८९३ रुपैयाँ तोकिएको छ।

यो दर २०८० साउन १ गतेदेखि लागू गरिएको हो। श्रम ऐनअनुसार औपचारिक क्षेत्रका श्रमिकको पारिश्रमिक हरेक दुई वर्षमा बजार मूल्यका आधारमा पुनरवलोकन गरिनुपर्ने प्रावधान छ।