कर्णाली विकास बैंकमा २ अर्ब ५० करोडको अपचलन प्रकरण: संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

अर्थ समाचार

काठमाडौं। कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रवीर राय ठूलो आर्थिक अपचलनको आरोपमा पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शनिबार रायलाई रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो। बाँके स्थायी घर भएका रायले २०७६ देखि २०७९ सम्म बैंकको सीईओको रूपमा कार्य गरेका थिए। बैंकको स्थापना २०६० सालमा भएको थियो।

रायमाथि करीब २ अर्ब ५० करोड रुपैयाँ बराबरको अपचलन गरेको गम्भीर आरोप छ। अपचलन सम्बन्धी प्रारम्भिक अनुसन्धान सुरु भएपछि उनी फरार भएका थिए। सीआईबीद्वारा पक्राउ परेपछि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप अनुसन्धान नेपाल राष्ट्र बैंकको समन्वयमा भइरहेको प्रहरी स्रोतले जनाएको छ।

यसअघि, २०७८ साल पुस १० गते, नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले कर्णाली विकास बैंकलाई “समस्याग्रस्त संस्था” घोषित गरिसकेको थियो। राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६(ख) अनुसार यस्तो निर्णय गरिएको हो।

यस निर्णयसँगै, बैंकको व्यवस्थापन राष्ट्र बैंकको प्रत्यक्ष नियन्त्रणमा लिइएको छ। ऐनको दफा ८६(ग) अनुसार तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ, जसको संयोजक बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टिकाराम खतिवडा छन्। सदस्यहरूमा वित्तीय संस्था सुपरिवेक्षण विभागका विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका जुगल किशोर कुशवाहा रहेका छन्। उक्त समूहले २०७८ पुस ११ देखि बैंकको जिम्मेवारी सम्हालिसकेको छ।