काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जटिल दीर्घरोगहरूको प्रभावकारी स्याहारका लागि ‘नेपाल प्रशामक सेवा राष्ट्रिय रणनीति २०२५–२०३५’ स्वीकृत गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले शुक्रबार आयोजित साप्ताहिक मिडिया ब्रिफिङमा सो जानकारी दिएका हुन् ।
स्वीकृत रणनीतिअनुसार प्रशामक सेवामा आम नागरिकको पहुँच सुनिश्चित गर्न देशका सबै तहमा संरचना, जनशक्ति र सेवा प्रवाह विस्तार गरिनेछ ।

जनसाधारणमा सचेतना अभिवृद्धि, औषधि तथा उपकरणको उपलब्धता सुनिश्चितता, नियामक निकायहरूसँग सहकार्य लगायतका बुँदाहरू रणनीतिक प्राथमिकतामा पर्छन् ।
हाल भारत, सिंगापुर, हङकङ लगायत मुलुकमा कोभिड–१९ को संक्रमण पुनः देखिन थालेपछि नेपालमा पनि संभावित जोखिमप्रति मन्त्रालय सजग रहेको छ । गत अक्टोबरदेखि हालसम्म नेपालमा दुईवटा कोभिड केसहरू पुष्टि भइसकेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सेवा प्रणाली सतर्क अवस्थामा राखिएको उल्लेख गर्दै प्रवक्ता डा.बुढाथोकीले प्रयोगशालाहरू, अस्पतालहरू तथा प्रदेशहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी दिए । सिमानाका नजिक हेल्थ डेस्कहरू सक्रिय बनाइएको छ ।
डेंगीको प्रकोप, सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह
मन्त्रालयका अनुसार सन् २०२५ को जनवरीदेखि मे २२ सम्म ७१ जिल्लामा १०८१ डेंगीका केसहरू रिपोर्ट भएका छन् । बागमती र कोशी प्रदेशमा संक्रमण दर उच्च रहेको छ । काठमाडौंमा सबैभन्दा धेरै ११९ केसहरू भेटिएका छन् ।
जनसाधारणलाई डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिने उपायहरू अपनाउन मन्त्रालयले आग्रह गरेको छ । ‘खोज र नष्ट गर’ अभियान हरेक शुक्रबार सञ्चालन भइरहेका छन् ।
स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय सम्मान र सहभागिता
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विश्व स्वास्थ्य संगठनको ७८औं महासभामा नेपालको नेतृत्व गर्दै जेनेभामा सहभागिता जनाएका छन् । महासभाको अवसरमा नेपालले सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्वपूर्ण योगदान दिएको भन्दै डब्लुएचओले नेपाललाई विशेष सम्मान प्रदान गरेको छ ।
महासभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले सार्वभौमिक स्वास्थ्य पहुँच, महामारी पूर्वतयारी, आप्रवासी श्रमिकको स्वास्थ्य सुरक्षा, तथा जलवायु परिवर्तनको असर जस्ता विषयमा नेपालका धारणा प्रस्तुत गरेका थिए ।
अभिमुखिकरण र कार्यशालाहरू सम्पन्न
स्वास्थ्य मन्त्रालयको आयोजनामा पछिल्लो हप्ता ‘बैकल्पिक हेरचाह क्षेत्र निर्देशिका’, सूचना व्यवस्थापन र समन्वयसम्बन्धी दुई दिने कार्यशाला, तथा कर्णाली प्रदेशमा एम्बुलेन्स निर्देशिका सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएका छन् । यी कार्यशालाहरूले विपद् पूर्वतयारी र सेवा सुधारमा योगदान पुर्याउने मन्त्रालयको अपेक्षा रहेको छ ।
स्वास्थ्य मन्त्रालयले सबै नागरिकलाई जनस्वास्थ्य उपायहरू पालना गर्न, सतर्क रहन, तथा स्वास्थ्य सेवा सम्बन्धी विश्वसनीय जानकारीका लागि मन्त्रालयका आधिकारिक स्रोतहरूमा भर पर्न आग्रह गरेको छ ।
